चौरसिया बन्धुहरुले वैश्य समाजलाई एकिकृत गरेर अगाडी बढ्नुपर्छ ः राज्यपाल चौरसिया

46

वीरगन्ज,२८ कार्तिक ।
भारत सिक्किम राज्यको राज्यपाल गंगा प्रसाद चौरसियाले बिहिबार एक भव्य कार्यक्रमबीच चौरसिया समाजद्वारा निर्माण हुन गइरहेको धर्मशालाको भूमिपूजन एवं शिलान्यास गर्नु भएको छ । सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल चौरसियाले भवनमात्र बनाएर चौरसिया समाजको उत्थान नहुने भन्दै चौरसिया समाजका गरिब एवं जेहेन्दार विद्यार्थीहरुको शिक्षामा जोड दिनुको साथै बिना दहेज विपन्न घरको केटीहरुसंग विवाह बन्धन बाध्न शुरु भएपछि समाजले सोचेको परिकल्पना पूरा हुने बताउनु भयो । चौरसिया समाजले वैश्य समाजलाई एकिकृत गरेर अगाडी बढ्न आव्हान गर्दै आर्थिक रुपमा कमजोर छात्रछात्राहरुका लागि छात्रावासको परिकल्पना गर्न पनि जरुरी भएको बताउनुभयो ।

चौरसिया बरई समाज सेवा समितिका अध्यक्ष रामाकान्त चौरसियाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा विशिष्ठ अतिथि भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले मधेशमा रहेका विभिन्न जातजातीहरु एउटा रुखको विभिन्न हाँगा भएको बताउनु भयो । वैश्य समाजको निर्माण गरी अगाडी बढेपछि मधेश र मधेशी बलियो हुने मन्त्री सोनलको भनाइ रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री अजय प्रसाद चौरसिया, राजपाका उपाध्यक्ष सुरेन्द्र कुर्मी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, डाबर नेपालका सिइओ किलास चौरसिया लगायत नेपाल भारतका चौरसिया बन्धुहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
चौरसिया बरई सेवा समिति पर्साका अध्यक्ष रामाकान्त चौरसियाका पिता गया चौरसियाले डेढ कठा जग्गा दानमा दिएका हुन् ।