नेताहरुले कार्यकर्ताहरुको विश्वास गुमाउंदै गएका छन् ः सभापति द्विवेदी

9

संतोष रन्जितकार
वीरगंज, ५ मंसिर ।
नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले सबैतिर विश्वासको कमी बढ्दै गएकोले समस्या उत्पन्न भइरहेको बताउनु भएको छ ।
जी.पी. कोईराला फाउण्डेशन पर्साद्वारा बिर्ता स्थित होटेल अन्नपुर्णमा आयोजित ॅशान्ति संवाद’ कार्यक्रममा बोल्दै द्विवेदीले अहिलेको समाजमा पत्रकारले जिम्मेवारी पूर्वक पत्रकारिता नगरिरहेको, कर्मचारीहरु गैरजिम्मेवार बन्दै गएको र नेताहरुले कार्यकर्ताहरुको विश्वास गुमाउंदै गएको कारणले गर्दा थप समस्याहरु उत्पन्न भइरहेको चर्चा गर्नुभयो ।
उनले तस्करीद्वारा धन आर्जन गरेका व्यक्तिहरुसंग नेताहरु टाँसिने प्रवृतिको कारणले गर्दा समस्या जटिल बन्दै गएको गुनासो गरे । सो कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सभापति एवं मन्त्री समेत रहीसकेको सुरेन्द्र प्रसाद चौधरीले मुल्यको राजनीतिको छयीकरण भइरहेको चर्चा गरे । जिपी फाउण्डेशन पर्साका अध्यक्ष महम्मद सहाबुद्दिनको अध्यक्षतामा भएको सो कार्यक्रममा राजपाका महासचिव शिव पटेल, उपमहासचिव नेजामुद्दिन समानी, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, नेता शोभाकर पराजुली, नेकपाकी नेतृ एवं प्रदेश सांसद ज्वाला साह, समाजवादी पार्टीका केन्द्रिय सदस्य शशिकपुर मियाँ, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केशी लामिछाने लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा विस्तृत शान्ति सम्झौताको सन्दर्भमा पत्रकार रितेश त्रिपाठी र सानो पाइला नेपालका संस्थापक कंचन झाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहिद परिवारका ४ जनालाई सम्मानित समेत गरिएको थियो । पर्साका सहिद परिवारका श्रृष्ठी भण्डारी, मैयाँ गिरी, गिता कुँवर र हरेराम दासलाई कार्यक्रमका प्रमुख अतिथी र विशेष अतिथीहरुले फुलको माला लगाई र दोसाला ओढाई मायाँको चिनोले सम्मान गरेका थिए ।
सो कार्यक्रमको संचालन फाउण्डेशन पर्साका सचिव सरोज चौरसियाले गरेका थिए भने स्वागत मन्तव्य संतोष सिंहले गरेका थिए ।