श्रीसिया नदीलाई प्रदुषण मुक्त बनाउन हस्ताक्षर अभियान

4

संतोष रन्जितकार
वीरगन्ज, ६ मंसिर ।
पर्साको श्रीसिया नदी प्रदुषण मुक्त अभियानले वीरगन्जमा शुक्रबारदेखि हस्ताक्षर अभियान शुरु गरेको छ । घण्टाघर चौकमा आयोजित सो हस्ताक्षर अभियान दुई दिनसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म चल्ने अभियानका संयोजक एवं अधिवक्ता सुरेन्द्र कुर्मीले बताए । स्वच्छ वातावरण नभएसम्म स्वच्छता कर नदिन स्थानियलाई आग्रह गर्दै संयोजक कुर्मीले नेपालको संविधानको धारा ३० ले आम नेपालीलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाच्ने संवैधानिक अधिकार सुनिश्चिता गरेको बताए । विषादीयुक्त पानीले गर्दा आम जनतामा क्यान्सर, मुटुरोग र छाला रोगको प्रकोप बढ्दै गएको बताउँदै, मुख्यमन्त्रीले स्वच्छता कर लिए पनि स्वच्छ वातावरण तर्फ कुनै कदम नचालेको र स्वच्छता करको पैसा अनावश्यक खर्च गरेको कुर्मीले आरोप लगाए । वीरगन्ज पथलैया कोरिडोर तथा श्रीसिया नदी भेगमा सञ्चालित छाला, सिमेन्ट, साबुन लगायतका उद्योगहरुले छाई, जिवका अवशेष, रौ र केमिकलयुक्त विषादी फोहर पानी सिँधै नदीमा मिसाउँदा आसपासका स्थानियलाई समस्या हुने गरेको दावी गरे ।
राजपाका जिल्ला अध्यक्ष राजेशमान सिंहले श्रीसिया नदी प्रदुषण मुक्त बनाउन संघर्ष समितिको अभियानमा आफ्नो पूर्ण समर्थन रहेको र यसको लागि आवश्यक कदम चाल्नु परे पनि पछि नहट्ने प्रतिबद्धता जनाए ।
स्वच्छ नदी पवित्र जल, स्वास्थ जीवन समृद्ध वीरगन्ज भन्ने मुल नाराका साथ दुई दिनेसम्म चल्ने हस्ताक्षर अभियानमा संकलन भएको हस्ताक्षरहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने र त्यसपछि थप संर्घषका कार्यक्रम सार्वजनिक गरिने अभियानका सदस्य ओमप्रकाश सर्राफले जानकारी दिए । अभियानमा समाजसेवी वृजेश्वर चौधरी, अधिवक्ता पन्नालाल गुप्ता, अभियानका सदस्य ज्ञानेन्द्र कुमार सिंह, कन्हैया पटेल लगायतको सहभागिता रहेको थियो ।