समाजवादी विद्यार्थी युनियनद्वारा मेडिकल कलेजका संचालक अंसारी विरुद्ध विरोध प्रदर्शन

67

संतोष रन्जितकार
वीरगंज, ७ मंसिर ।
नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालकका सञ्चालक बसरुद्दिन अन्सारी बिरुद्ध समाजबादी पार्टी निकट समाजबादी बिधार्थी युनियनले शनिबार घण्टाघरमा बिरोध प्रदर्शन गरेको छ ।
कलेजका बिधार्थीहरुको शान्तिपूर्ण आन्दोलन पश्चात होस्टेलमा जान खोज्दा भएको कुटपिटको बिरोधमा कलेजका सञ्चालक अन्सारी बिरुद्ध युनियनले बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा उनीहरुले नेशनल मेडिकल कलेज अस्पतालकका सञ्चालक बसरुद्दिन अंसारीको तस्बिर समेत जलाएका हुन् ।
युनियनका केन्द्रिय सचिव सुजित गिरीको नेतृत्वमा बिधार्थी नेताहरुले कलेजका सञ्चालक अंसारी बिरुद्ध बिरोध प्रदर्शन गरेका हुन । बिरोध प्रदर्शनमा ठाकुरराम बहुमुखी क्याम्पसका ईकाई अध्यक्ष हरेन्द्र साह, सचिव बिकाश मेहता लगायतका बिधार्थी नेताहरुको सहभागिता रहेको थियो ।
हिजो साँझ सरकारले तोकेको भन्दा लिएको बढी शुल्क नेशनल मेडिकल कलेजले फिर्ता गर्नुपर्ने माँग गर्दै कलेज गेट अगाडि धर्नामा बसेका मेडिकल बिधार्थीहरु होस्टेलमा जान खोज्दा उनीहरु माथि कुटपिट भएको थियो । विद्यार्थीहरुले कुटपिटमा कलेजका सञ्चालक अन्सारीले बाहिरबाट मान्छे बोलाएर कुटपिट गर्न लगाएको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए ।
यसैबिच युनियनले आज शनिबार बिदा भएको भन्दै भोलि जिल्ला प्रशासन कार्यालयमा मेडिकल शिक्षाको बिषयमा यस अघि दिईएको ज्ञापन पत्रको बारेमा जानकारी लिने तथा त्यसपछि अगामी दिनको आन्दोलनका कार्यक्रमहरु तय गरिने समाजबादी बिधार्थी युनियनका केन्द्रिय सदस्य निखिल बर्णवालले जानकारी दिए ।
त्यसैगरी विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा कलेज प्रशासनले बाहिरी गुन्डा प्रयोग गरी बिद्यार्थीलाई भौतिक र मानसिक यातना दिने काम तत्काल रोक्न र घटनाको दोषीलाई कानुनको दायरामा ल्याइ तत्काल कारबाही गर्न अनेरास्ववियूले माग गरेको छ ।
विद्यार्थीको अधिकार र सहज वातावरणको लागि अनेरास्ववियू प्रदेश नम्बर २ ले जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्रसमेत बुझाएको अनेरास्ववियू नेतृ आरती लामाले जानकारी दिइन् ।
कलेज प्रशासनले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीलाई आन्दोलन फिर्ता गर्न दबाब दिएको, आन्दोलन फिर्ता नलिए ज्यान मार्नेसम्मको धम्की दिने गरेको नेतृ लामाले जानकारी दिइन् ।