अनेरास्ववियुका नेताहरुद्वारा नेशनल मेडिकल कलेजका एमडी अंसारीलाई गिरफ्तारको माग

121

संतोष रन्जितकार
वीरगंज, ८ मंसिर ।
अनेरास्ववियुले नेशनल मेडिकल कलेज वीरगंजका प्रबन्ध निर्देशक (एमडी) बसरुद्दिन अंसारीलाई गिरफ्तार गर्न माग गरेको छ । अनेरास्ववियूका केन्द्रिय नेता सुदेस पराजुलीको नेतृत्वमा आईतबार वीरगंजमा अनेरास्ववियुले नेशनल मेडिकल कलेज प्रशासन बिरुद्ध प्रदर्शन गर्दै एमडी अंसारीलाई गिरफ्तार गर्न माग गरेको हो ।
वीरगंजको घण्टाघरबाट विभिन्न प्ले कार्ड सहित चर्को नाराबाजी गर्दै निस्केको अनेरास्ववियुको बिरोध र्‍याली कलेजमा पुगेर धर्ना समेत बसेका थिए । विरोध र्‍यालीमा सहभागिहरुले बसरुद्दिनलाई गिरफ्तार गर, बढि लिएको शुल्क फिर्ता गर, बिद्यार्थी कुटन पाईदैन, स्थानिय प्रशासन मौन किन ?, मेडिकल माफिया मुर्दावाद, राज्यले तोकेको शिक्षण शुल्क लागु गर लगायतको नाराहरु लगाएका थिए ।


कलेजका विद्यार्थीहरुले आइतबार पनि कलेज अगाडी धर्ना जारी राखेका छन् भने अनेरास्ववियुको विरोध र्‍याली धर्ना स्थलमा पुगेर विद्यार्थीहरुको आन्दोलनमा एक्यवद्धता जनाएको थियो ।
कलेजका संचालक बसरुद्दिनले आफ्नै विद्यार्थी माथी गुण्डा लगाई कुटपिट गराएका कारण उनलाई गिरफ्तार गरी प्रशासनले कारवाही गर्नु पर्ने अनेरास्ववियुका नेताहरुले माग गरेका छन् । सरकारले निर्धारण गरेको शुल्का भन्दा बढी असुल गरेको शुल्क फिर्ता गर्नुको सट्टा उल्टै गुण्डा लगाई कुटपिट गराउनु र स्थानिय प्रशासन बस्नुले सो कार्यमा प्रशासनको समेत मिलोमतो रहेको शंका उत्पन्न भइरहेको नेताहरुको भनाई रहेको थियो ।
धर्नामा स्ववियु काउन्सिल काठमाण्डौका अध्यक्ष मिलन गैरो, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियुका नेता मित्रदेव यादव, रामबाबु यादव, शिवम साह, मेराजुल हवारी, नसिम अक्त्तर, बिकेश यादव, हेमन्त तामांग लगायत सयौ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी नेविसंघ पर्सा र समाजवादी फोरम नेपाल निकट समाजवादी विद्यार्थी युनियन पर्साले समेत नेशनल मेडिकल कलेज विरुद्ध विरोध प्रदर्शन गरेका छन् । सो कार्यक्रम नेविसंघ पर्साका विकास तिवारी र समाजवादी विद्यँर्थी युनियनका वरिष्ठ उपाध्यक्ष कृष्ण चौरसियाको नेतृत्वमा गएका संयुक्त टोलीले मेडिकल कलेजको मुल गेट बाहिर धर्ना समेत प्रदर्शन गरेका थिए ।