समाजवादी विद्यार्थी युनियनद्वारा चन्दा संकलन शुरु

12

संतोष रन्जितकार
वीरगंज, ९ मंसिर ।
समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनले वीरगञ्जमा चन्दा संकलन सुरु गरेको छ । नेशनल मेडिकल कलेजमा विद्यार्थी कुटपिट गर्नेहरुलाई कारबाही नगर्ने जिल्लाका जिम्मेवार प्रमुख व्यक्तिहरुलाई उक्त चन्दाको रकम दिनको लागि सोमबारबाट चन्दा संकलन कार्य सुरु गरिएको युनियनले जनाएको हो । युनियनले १२ हजार १३ रुपैयाँ चन्दा संकलन गरेका छन् ।
अतिरिक्त शुल्क फिर्ताको माग राखेर नेशनल मेडिकल कलेजका १८ औं व्याचका विद्यार्थी आन्दोलनमा छन् । कलेज व्यवस्थापनले सिनियर विद्यार्थी उचालेर र बाहिरका मानिस समेत लगाएर उनीहरुमाथि पटक पटक कुटपिट हुँदा समेत कारबाही नभएपछि दबाव दिने उदेश्यका साथ चन्दा संकलन सुरु गरिएको युनियनले जनाएको थियो ।
काजु, किसमिस, बदाम, सुट र बोतलबन्द मदिरा लिएर मेडिकल कलेजले मनोमानी गरिरहँदा समेत कारबाही नगर्ने जिल्लाका केही प्रमुख व्यक्तिलाई सोही सामान खरिद गरेर दिन चन्दा संकलन गरिएको समाजवादी विद्यार्थी युनियनले जनाएको छ । कलेजसँग सोही सामाग्री लिएर आन्दोलनरत विद्यार्थीलाई कुटपिट गर्नेलाई कारबाही नगरेको आभास भएपछि आफूहरुले जिल्लाका प्रमुख व्यक्तिलाई सोही सामाग्री बुझाउन चन्दा संकलन गरेको युनियनका सचिव सुजित गिरीले बताए ।