गुरुकुल एकेडेमीले विद्यार्थीहरुसंग बढी शुल्क लिएकोमा नेविसंघद्वारा प्रशासन शाखामा तालाबन्दी

4

संतोष रन्जितकार
वीरगंज, १० मंसिर ।
नेपाल विद्यार्थी संघ पर्साले वीरगंजस्थित् गुरुकुल एकेडमीको प्रशासन शाखामा तालाबन्दी गरेको छ । विद्यालय प्रशासनले विद्यार्थीहरुसंग निर्धारित शुल्क भन्दा बढि रकम असुल गरेको भन्दै नेवि संघले तालाबन्दी गरेको हो ।
वीरगंज महानगरपालिका वडा नं. १३ स्थित गुरुकुल एकेडमीले विद्यालयमा अध्यनरत कक्षा ९ र १० कक्षाका विद्यार्थीहरुसंग परिक्षा आबेदन फारमका लागी परिक्षा बोर्डले तोकेको शुल्क भन्दा ३ गुणा बढि रकम असुली गरेकोमा नेवि संघको ध्यानाकर्षण भएको थियो ।
नेवि संघले केहि दिन अगाडी जिल्ला प्रशासन कार्यालय र वीरगंज महानगरपालिका कार्यालयको शिक्षा शाखालाई विद्यालय माथि आवश्यक कारवाही गरि अतिरिक्त शुल्क फिर्ता गराउन माग गर्दै ज्ञापन पत्र समेत बुझाएको थियो । संघको मागलाई बे–वास्ता गरेको भन्दै नेवि संघका जिल्ला उपाध्यक्ष विकेश पटेलको नेतृत्वमा गएको टोलिले विद्यालयको प्रशासन शाखामा तालाबन्दी गरेको हो ।
संघका जिल्ला सचिव प्रसान्त सिंहले विद्यालयले विद्यार्थीहरुसंग असुल गरेको शुल्क फिर्ता नगरेसम्म आफुहरुले तालाबन्दी नखोल्ने बताए । जिल्ला उपाध्यक्ष विकेश पटेलको नेतृत्वमा गएको टोलीमा जिल्ला सदस्य प्रकाश रौनियार, दिपक पटेल(माया), मोनाजिर आलम, विशाल पटेल, महानगर अध्यक्ष बिबेक कलवार लगायत अन्य विद्यार्थी नेताको उपस्थिति रहेको थियो ।