घरायसी विवादको कारणले पासो लगाई आत्महत्या

23

संतोष रन्जितकार
वीरगंज, १० मंसिर ।
सोमबार साँझ ४ बजेको समयमा पर्सा पकाहा मैनपुर वडा नं. ५ सबैठवा अहृमद आलमको घरमा उनको बुहारी वर्ष २१ की सहाना खातुनले घरायसी विवादको कारण पासो लगाई आत्महत्या गरेकी छिन् । घरमा विवाद भएपछि निज खातुनले आफ्नो कोठामा गई कोठाको ढोका बन्द गरेर धेरै बेरसम्म कोठा बाहिर ननिस्केपछि उनको घरपरिवारलाई शंका लागेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्दा, प्रहरीले खातुनको कोठाको ढोका तोडेर भित्र पस्दा खातुन पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनाको समयमा उनको श्रीमान मुन्ना अंसारी कामको शिलशिलामा घरबाट बाहिर रहेको खातुनको मामा इम्तियाज मंसुरीले जानकारी दिए । त्यसैगरी खातुनको आमाबुवाले सो घटना सम्बन्धमा खातुनको श्रीमान, ससुरा, जेठाजु र जेठानीले कुनै पनि काम विशेषलाई लिएर बारम्बार यातना दिदै आएको कारणले खातुनले उनीहरुले दिएको यातना सहन नसकेर वा बाध्य भएर पासो लगाएको खातुनको माइती पक्षको भनाई रहेको छ । खातुनको माइती पक्षले खातुनको मृत्यु ससुराली पक्षले दिएको यातनाको कारण भएको आरोप लगाएका थिए । खातुनको शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा ल्याइएको थियो ।
सो घटना सम्बन्धमा अहिलेसम्म कोही पक्राउ नपरेको र अनुसन्धान प्रक्रिया जारी रहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।