२ जुवाडे र लागुऔषध सहित ३ जना पक्राउ

19

संतोष रन्जितकार
वीरगंज, १० मंसिर ।
पर्साबाट २ जुवाडे र लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । बहुदरामाई नगरपालिका–४ स्थित पोखरीको डिलमा जुवा–तास खेलिरहेको अवस्थामा प्रहरीले दुई जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको हो । पक्राउ पर्नेमा बहुदरामाई नगरपालिका–९ का ५० वर्षीय बेराहिम मिया र वीरगञ्ज–२६, सुगौलीका ३६ वर्षीय लालबाबु पटेल रहेका छन् ।
पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ ९१ हजार ८ सय ९० र आइसी २८ हजार २ सय प्रहरीले बरामद गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, प्रहरीले वीरगञ्जबाट लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । कलैया उपमहानगरपालिका बस्ने साब हुसेन, अमरुदिन मियाँ र पोखरिया–८ बस्ने महम्द मुर्तुजालाई पक्राउ गरिएको हो ।
वीरगञ्ज–१६, रजतजयन्ती चोकबाट ना.३८ प.४३४४ नं. को मोटरसाइकलमा सवार उनीहरूको साथबाट नाइट्राभेट ट्याब्लेट ४५ थान बरामद भएको थियो ।