निजगढ प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ

29

बारा, १२ मंसिर ।
इलाका प्रहरी कार्यालय निजगढमा भर्खरै काज सरुवा भएर आएका प्रहरी निरीक्षक विकास थपलियाले फरार प्रतिवादी खोज्न तीब्र रुपमा लागि परेका छन् ।
प्रहरी निरीक्षक थपलियाको नेतृत्वको टोलीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतलाई बिहीबार बुझाएका छन् । पक्राउ पर्ने प्रतिवादीहरुमा सोमबहादुर थि·, श्रीराम पौडेल र श्याम साह रहेका छन् ।
प्रहरी निरीक्षक थपलियाका अनुसार सोमबहादुर थिङ जिल्ला अदालत बाराबाट सवारी ज्यान मुद्दामा २०६९ साल वैशाख ८ गतेको फैसला आदेशले १ महिला ३ दिन कैद, २ हजार नगद जरिवाना र सवारी ज्यान मुद्दामै २०७० वैशाख २२ गतेको फैसला आदेश अनुसार ८ दिन कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो । थिङले बिहीबार बारा अदालतमा ४ हजार नगद रकम तिरेको र जिल्ला अदालत बाराले तोकेको सजाय भुक्तानीका लागि वीरगन्ज कारागार चलान गरेको थियो ।
त्यस्तै श्रीराम पौडेल बारा जिल्ला अदालतको २०७१ मंसिर २४ गतेको प्रतिलिपी अधिकार सम्बन्धी अपराध मुद्दामा नगद दश हजार बिगो बुझाउन बाँकी रहेको र श्याम साह सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराको २०७३ असार २० गतेको आदेशले १ हजार बुझाउन बाँकी रहेका प्रतिवादी हुन् । पौडेले अदालतमा १० हजार र साहले प्रशासन कार्यालयमा १ हजार जरिवाना बुझाएका थिए ।