यात्रुवाहक बस पुलबाट तल खस्दा चालक सहित २५ जना घाइते, एकको अवस्था गम्भिर

1

बारा, १३ मंसिर ।
बाराको निजगढ–८ स्थित उनासी पुलमा यात्रुबाहक बस पुलबाट तल खसेको छ । जनकपुरबाट शुक्रबार बिहान छुटेको ना ४ ख ७९९० यात्रुबाहक बस पुलको दक्षितर्फबाट करिब १० फिटमुनि तल झरेको हो ।
भैरहवाका लागि ४० जना यात्रु बोकेर गन्तव्यतर्फ लागेको बस निजगढ बजारबाट ३ किलो मिटर पश्चिमतर्फ निजगढ–काठमाण्डौं फास्ट ट्रयाकको प्रवेशद्वार नजिक रहेको उनासी पुलको बार भत्काउँदै तल झरेको थियो ।

बस पुलबाट खस्दा बसमा सवार २५ जना यात्रु घाइते भएका छन् भने सो घाइतेहरुलाई स्थानीय निजगढ सामुदायिक अस्पताल प्रसूति गृहमा उपचार भइरहेको तथा घाइतेमध्ये १९ जनालाई वीरगञ्जका विभिन्न अस्पतालमा रिफर समेत गरिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घाइतमध्ये परिचय नखुलेको एकजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, द्रुतमार्गमा खटिएको नेपाली सेना र स्थानीयले उद्धार गरेका थिए ।
पट्टा भाँचिएर बस दुर्घटनामा परेको
सो बसको चालक धनुषाको मिथिला नगरपालिका ३ का २८ वर्षीय सुनिल यादवलाई उदृत गर्दै तीव्र गतिमा रहेको बसको अगाडी पट्टा भाँचिएको कारण अनियन्त्रित भएर पुलबाट खसेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए ।