अयोध्याबाट आएका जन्तीलाई वीरगंजमा पनि स्वागत गरिने

7

संतोष रन्जितकार
वीरगंज, १५ मंसिर ।
अयोध्याबाट जानकपुरधाम धनुषामा आएका जन्तीलगायतका पाहुनालाई वीरगन्जमा पनि स्वागत गरिने भएको छ । विगतमा झैँ यो वर्ष पनि अयोध्याका पाहुना वीरगन्जको बाटो भएर फर्कर्ने समयमा वीरगन्जमा स्वागत गरिने भएको हो ।
आगामी मंसिर १७ गते बिहान ८ बजे जनकपुरधामबाट बिदा भई मध्यान्ह २ बजे वीरगन्ज आइपुग्ने अयोध्याका पाहुनालाई विश्व हिन्दु परिषद् नेपाललगायतका संघ संस्थाको अगुवाइमा वीरगन्जमा पनि स्वागत गर्ने तयारी रहेको विश्व हिन्दु परिषद् नेपालका पर्सा अध्यक्ष ओमप्रकाश साह कानुले बताए ।
अयोध्याका पाहुनालाई विश्वहिन्दु परिषद् पर्सा, ब्राम्हण समाज नेपाल पर्सा, शिक्षाविद्, समाजसेवीलगायतले संयुक्त रूपमा सम्मान र बिदाइ गर्ने तयारीमा जुटेको समाजसेवी जसपाल सिंहले बताए । हिन्दुको गरिमालाई अझ उच्च मूल्यांकन होस् भनी छिमेकी मुलुकबाट आउने पाहुनालाई जनकपुरमा मात्र नभएर वीरगन्जमा पनि सम्मान गर्न लागिएको उनको भनाइ रहेको थियो ।
भारतको अयोध्याका पाहुनालाई वीरगन्जमा स्वागत र सम्मान तथा भोजन गराउने कुरा विश्व हिन्दु परिषद् नेपाललगायत संस्थाका अगुवाले आइतबार वीरगन्जस्थित पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।