मेयर सरावगीले गरेको प्लाष्टिक बन्दको घोषणा अबको नयाँ पिढीले व्यवहारमा उतार्नुपर्छ ः अध्यक्ष खेतान

11

संतोष रन्जितकार
वीरगंज, २१ मंसिर ।
समुदाय प्रहरी साझेदारी अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगर, व्यवस्थित वीरगंज, वोमेन्स क्रिएसन र फोरजीआर जोइन हैन्ड्सको संयुक्त आयोजनामा प्लाष्टिक झोला र प्लाष्टिकका सामानहरुको बढ्दो प्रयोगले गर्दा भइरहेको नोक्सान शिर्षकमा निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।
ग्रीन सिटी सामुदायिकको कार्यालय अगाडीको बाटोमा शनिबार आयोजित सो प्रतियोगिता ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगी रहनु भएको थियो ।

वीरगंज महानगरपालिकाका ९ वटा निजी विद्यालयका ६६ विद्यार्थीहरुलाई प्लाष्टिक प्रदुषण बन्द गर्न के गर्नुपर्छ ? भन्ने शिर्षकमा निबन्ध मार्फत प्रतिस्पर्धा गराईएको थियो । नगरप्रमुख सरावगीले प्लाष्टिकको झोला बन्द गर्नुपर्ने घोषणा गर्नु भएको कुरा व्यवहारमा उतारी तत्काल कार्यान्वयन गराउन विद्यार्थीलाई अगाडी सारिएको हो ।
अबको नयाँ पिढीले महानगरले गरेको घोषणालाई व्यवहारमा उतार्नुपर्दछ भन्ने विद्यार्थीलाई बौद्धिक प्रतिस्पर्धा गराइएको आयोजक संस्था ग्रीन सिटीका अध्यक्ष खेतानले बताउनु भयो ।

सो निबन्ध कार्यक्रममा जीएचपी स्कुल, डिएभी स्कुल, डिपीएस स्कुल, जिवनज्योती मावि, मनोकामना मावि, आदर्श बोर्डि· स्कुल, गेन्दा एकेडेमीको विद्यार्थीहरु बीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा जीएचपी माविको कक्षा १० मा अध्ययनरत छात्रा रोशनी पटेल प्रथम भएकी थिइन भने डिपीएस स्कुलको कक्षा ८ मा अध्ययन रुद्रिका आनन्द दोस्रो भएकी थिइन भने मनोकामना माविका कक्षा ९ मा अध्ययनरत प्रफुल कर्ण तेस्रो भएका थिए । उक्त प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई मेयर सरावगीले पुरस्कार समेत वितरण गर्नु भएको थियो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत उमेश बस्नेत, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाही, वोमन्स क्रिएसन्की मनिषा अग्रवाल, फोरजीआरको अन्जु कुमारी, मनिका थापा, स्कुलहरुका प्रधानाध्यापकहरु राजीव आनन्द, सुसान्त थापा, अजय कुशवाहा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु, दिलिप कार्की लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।