संतोष रन्जितकार
वीरगंज, २३ मंसिर ।
ने.वि.संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाइ समितिले सोमबार एक प्रेस विज्ञप्ति मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कोहलपुर घटनामा कलिला विधार्थी भाई बहिनीहरु माथि तानाशाही प्रवृति लिएको सरकारले दमनकारी नीतिको नाँगो प्रदर्शन गर्दै, सामान्य विधार्थीहरु माथि गरिरहेको दमनमा लाठी प्रहार, आश्रुगैस प्रहार तथा निर्ममता पूर्वक गोली प्रहार गरेकोमा नेविसंघ ठा.रा.ब. इकाई समितिले घोर विरोध गरेको छ । जसको मतबाट जितेर सरकारमा जान्छन, त्यसै माथि गोली हानी ज्यान मार्ने कार्य गर्नु सरकारको गैर जिम्मेवारीपन कार्य रहेको इकाई समितिले आरोप समेत लगाएको छ । सरकारी दमनबाट पीडित पक्षलाई सरकारले उचित उपचार खर्च तथा आर्थिक सहयोग गर्नु पर्दछ । यस्तो निर्मम र निर्दयी घटनाको मुल्यांकन मानव अधिकारवादी संस्थाहरुले गर्नुपर्दछ भन्ने हाम्रो माँग रहेको छ । हाम्रो माँगहरुको बे–वास्ता गरेमा हामी चरणबद्ध आन्दोलनलाई अगाडी बढाउने घोषणा गर्दछौं । सो प्रेस विज्ञप्तिमा ने.वि.संघ क्याम्पस इकाई अध्यक्ष मनोज साहले हस्ताक्षर गरेका थिए ।