मेयर सरावगीद्वारा एसिड पीडित खातुनलाई ३ लाख सहयोग

19

संतोष रन्जितकार
वीरगञ्ज, २६ मंसिर ।
एसिड आक्रमणबाट घाइते भएकी वीरगञ्जकी मुस्कान खातुनको उपचारका लागि वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले ३ लाख रुपैयाँ सहयोग गरेका छन् ।
मुस्कानलाई बिहीबार मेयर सरावगीले वीरगञ्ज महानगरपालिकाबाट पाएको दुई लाखको चेक र आफनो तलबभत्ताबाट मेयर कल्याणकारी कोषमा जम्मा भएको एक लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।
मेयर सरावगीले एसिड पीडितको उपचार लामो समयसम्म हुने भएको कारणले मुस्कानको उपचारमा कुनै समस्या नहोस भनी रकम प्रदान गरेको बताए । यसअघि पनि मेयर सरावगीले घटना भएकै दिन १५ हजार रुपैया उपचारको लागि व्याक्तिगत रुपमा सहयोग गरेका थिए ।
काठमाडौँको कीर्तिपुरमा रहेको बर्न सेन्टरमा उपचार गराइरहेकी मुस्कानको परिवारलाई भेटेर मेयर सरावगीले मुस्कानको स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिएका थिए ।
वीरगञ्जको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत वीरगञ्ज छपकैया–२ की १५ वर्षीया खातुनमाथि गत झदौ २० गते शुक्रबार बिहान ६ बजे एसिड आत्रमण भएको थियो । एसिड प्रहारले उनको अनुहार, हात, छाति र पाखुरामा जलेको थियो ।