नेकोन केबि प्लाष्टो ई प्रा.लि.द्वारा श्रम अदालतको निर्णय नमानेपछि मजदुरहरु आन्दोलित

15

संतोष रन्जितकार
वीरगंज, ३० मंसिर ।
पर्सामा रहेको नेकोन केबी प्लाष्टो ई. प्रा.ली. ले श्रम अदालत काठमाडौँको निर्णयलाई कार्यान्वयन नगरेपछि त्यहाँका मजदुरहरु आन्दोलित भएका छन् ।
३ वर्ष पहिले काम गर्दै आएका मजदुरलाई बिना कारण काममा आउन रोक लगाएपछि श्रम अदालत गएका मजदुरहरुको पक्षमा अदालतले गरेको निर्णय उद्योग प्रशासनले नमानेपछि त्यहाँका मजदुरहरु आन्दोलित भएका हुन् ।
तिन वर्ष पहिले सुनिल कुमार बर्मा सहित १७ जना मजदुरलाई बिना कारण उद्योगले कारखाना जानबाट रोक लगाएका थिए । त्यस पश्चात उद्योगलाई बिपक्षी बनाउदै १७ जना मजदुरहरु श्रम अदालत पुगेका थिए । श्रम अदालत काठमाण्डौको २०७६ असार ५ गतेको निर्णय अनुसार श्रम तथा रोजगार कार्यालयले २०७६ मंसिर ९ गते उद्योगालाई सम्मानित अदालतको निर्णय कार्यान्वयन गर्न पत्रचार गरेको थियो ।
सम्मानित श्रम अदालतले बर्मा सहित १७ जना मजदुरलाई पत्र प्राप्त भएको मितिदेखि रोजगार सम्झौता गरी काममा लगाउनुपर्ने निर्णय गरेको थियो ।
तर उद्योग प्रशासनले तत्काल उद्योगमा मजदुरको आवश्यक्ता नभएका कारण देखाउदै निजहरुलाई काममा नराख्ने वातावरणको सृजना गरेको छ । उद्योगले स्थायी गर्नुपर्ने भएकोले नेपाली भन्दा गैर नेपाली कामदारहरु राख्दै आएको छ ।