बारा बिश्रामपुर गाउँपालिकाका अध्यक्ष भेडिहर पक्राउ

16

बारा, ६ पुस ।
बारा प्रहरीले विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई आइतबार घरबाटै नियन्त्रणमा लिएको छ । सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भइ फरार रहेका भेडिहरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।
उनका अनुसार अध्यक्ष भेडिहरलाई आइतबार नै अदालतमा हाजिरी गराई अदालतको आदेशअनुसार कैद सुजाय भुक्तानको लागि साँझ कारागार पठाइने बताए ।
प्रहरी उपरीक्षक खनालले २०६१ सालमा एक वृद्धालाई आफैंले चलाएको मोटरसाईकलले ठोकर लागि वृद्धको मृत्यु भएको थियो । उक्त घटनामा बारा जिल्ला अदालतले २०६३ भदौ २९ गते भेडिहरलाई दोषी ठहर गर्दै उनलाई २९ दिन कैद र २ हजार जरिवाना सजाय सुनाएको थियो । घटना भएको १५ वर्षसम्म उनी बाहिरै थिए । फौजदारी अपराधमा कसुरदार भएर पनि उनी चुनाव लडेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
दोस्रो मधेस आन्दोलन ताका उनलाई वीरगन्जमा प्रदर्शनको क्रममा प्रहरीको गोली लागेको थियो । उपचारबाट ठिक भएपछि उनी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीबाट चुनाव लडेर गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित समेत भएका थिए ।