सुखी नेपाली समृद्ध नेपालको नारा हावामा, गाउँपालिका रितो गरी अध्यक्ष सहितको टोली विदेश भ्रमणमा

27

बीरगञ्ज, ७ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै आएको ॅसुखी नेपाली, समृद्ध नेपाल’को नारा उनका अनुचरहरुले विदेश भ्रमण गरेर धोती लगाइदिएका छन् । वर्तमान केपी ओलीको सरकार चुर्लुम्म भ्रष्टाचारमा डुबेको कारणले गर्दा नाच्ने बजाउनेहरु समेत लुट्न सके लुट कान्छा भन्ने गीतलाई उत्पादन गरेर बजाउंदै हिडिरहेका छन् । केपी ओलीको पार्टीबाट निर्वाचित पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीको नेतृत्वमा १५ सदस्यीय जम्बो टोली स्थानीय निकायको नियमावलीलाई धोती लगाउंदै विदेशको यात्रामा निस्केको छ ।
यही पुस २ गते देखि गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीको नेतृत्वमा गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत भुजेन्द्रप्रसाद यादव, वडा नं. १ का अध्यक्ष फरमान मिया अन्सारी, २ नं. वडाका अध्यक्ष विजय गैरे, वडा नं. ३ का अध्यक्ष माधव राउत थारु, ४ नं. वडाका अध्यक्ष राजेश्वर महतो थारु, वडा नं. ५ का वडा अध्यक्ष मोतिलाल साह, गाउँपालिका सदस्य विपिन मुखिया, अर्का सदस्य दीपक कुमार रसाइली, गाउँपालिकाको योजना, प्रशासन, शिक्षा स्टोर शाखाका अधिकृत शम्भुप्रसाद साह, सिभिल इन्जिनियर प्रदीप चौरसिया, उर्जा तथा वातावरण अधिकृत निर्मलकुमार सिंह, लेखापाल वीरेन्द्रप्रसाद साह, प्रशासन तथा योजना शाखाका नासु राजकुमार महतो र खरिदार वीरेन्द्रप्रसाद चौधरी समेत रहेका छन् । यो टोलीमा एक जना पनि महिला सदस्य नरहेकोले टोलीको नियतमाथि गम्भिर प्रश्न खडा भएको छ । यो टोली थाइल्याण्ड, मलेशिया, कम्बोडिया र सिंगापुरको भ्रमण गरी पुस ११ गते फर्किने गाउँपालिकाका उपाध्यक्ष ममता चौधरीले बताउनु भयो ।
सिंगो गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि र जिम्मेवार कर्मचारीहरुको अनुपस्थितीमा सिंगै गाउँपालिकाको कामकाज ठप्प भएको उपाध्यक्ष चौधरीको भनाइ रहेको छ ।
स्रोतका अनुसार भ्रमणका लागि प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ । यस हिसावले भ्रमणको कुल खर्च ३७ लाख ५० हजार हुन आउँछ । कुन स्रोतबाट उक्त रकम खर्च गरिएको हो उपाध्यक्ष महतोलाई जानकारी छैन ।