पर्सा प्रहरीले महिला माथी भएको कुटपिटको उजुरी दर्ता नगरेको पीडितको गुनासो

9

संतोष रन्जितकार
वीरगंज, ११ पुस ।
महिला माथी भएको कुटपिटको उजुरी पर्सा प्रहरीले दर्ता गर्न नमानेको पिडितले गुनासो गरेका छन् । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी गौरी चौरसियाकी श्रीमती रामपरी देवी माथी भएको कुटपिटको उजुरी पर्सा प्रहरीले दर्ता गर्न नमानेको हो ।
पुस २ गते आफ्नै जग्गामा घर बनाउने क्रममा पडोसी रामेश्वर चौरसिया, रामेश्वरका छोरा जितेन्द्र चौरसिया र धिरेन्द्र चौरसियाले आमा रामपरीलाई कुटपिट गरेको रामबिर चौरसियाले बताए । कुटपिटबाट घाइते भएकी आमाको नारायणी अस्पताल वीरगंजमा उपचार गराई सोही दिन भाई अजय चौरसियाले जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा दोषी उपर कार्वाहीको मांग गर्दै निवेदन दर्ता गराएको बताए ।
निवेदनको आधारमा कारवाही नहुदा पछि ठाडो उजुरी दिन जिल्ला प्रहरी कार्यालय पर्सामा पटक–पटक जांदा पनि प्रहरीले उजरी लिन नमानेको तथा उल्टै बुवा गौरी र भाई अजय माथी प्रहरीले सार्वजनिक अपराध मुद्दा दर्ता गरी अन्याय गरेको रामबिरले संचारकर्मीहरुसंग दुःखेसो पोखे ।
चौरसियाका अनुसार घर निर्माण भइरहेको नजिकै रामेश्वरको पनि पक्की घर रहेको छ । रामेश्वरले घर बनाउदा एक इन्च पनि जग्गा छोडेका छैनन् । त्यस नजिकै रहेको आफ्नो जग्गामा घर बनाउदा रामेश्वर र निजका छोराहरुले मेरो घरको पलास्टर भए पछि मात्र घर बनाउनु भन्दै आमालाई कुटपिट गरेका थिए ।