घुस रकम सहित रंगेहात वीरगंज महानगरका लेखाशाखाका जयसवाल अख्तियारको फन्दामा

18

संतोष रन्जितकार
वीरगंज, १४ पुस ।
उपभोक्ता समिति मार्फत महानगरले गराएको कामको भुक्तानी दिने क्रममा घुस रकम लिदै गर्दा वीरगन्ज महानगरपालिकाका करारमा नियुक्त लेखाशाखाका राकेश कुमार जयसवाल पक्राउ परेका छन् । जयसवाललाई हेटौडाबाट आएको अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित रंगेहात पक्राउ गरेको हो । वीरगंज महानगरपालिका वडा नं. ४ निवासी जयवालले वीरगंज महानगरपालिकाको वडा नं. ३० स्थित सडक ढलानको सम्पन्न प्रतिवेदनको लागि सेवाग्राही संग घुस मागेका थिए । सोही घुस रकम सेवाग्राही संग लिने क्रममा रंगे हात जयवाललाई पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ ।
पक्राउ परेका जयसवाललाई थप अनुसन्धानका लागि अख्तियारको टोलीले हेटौडा स्थित अख्तियारको कार्यालयमा नै ल्याइएको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले बताउनु भयो ।
प्रदेश नम्बर २ को एक मात्र महानगरपालिकाको लेखाशाखाका कम्प्यूटर अपरेटर जयसवाललाई सोमबार दिउसो अख्तियारको टोलीले कार्यालयमा नै सेवाग्राहीसँग १५ हजार घुस रकम लिंदै गर्दा रंगेहात पक्राउ गरेको हो ।
पहिलेदेखि नै उनको बारेमा अख्तियारमा सूचना आइरहेकोले आज निगरानी राख्दा उनी रंगेहात पक्राउ परेको अख्तियार कार्यालय हेटौडाले जनाएको छ ।