प्रमुख जिल्ला अधिकारी र पत्रकारहरु बिच भेटघाट तथा छलफल

6

संतोष रन्जितकार
वीरगञ्ज, १४ पुस ।
जिल्ला प्रशासन कार्यालय पर्साको कर्मचारी मिलन केन्द्रमा सोमबार पत्रकार र प्रमुख जिल्ला अधिकारी बिच भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको सभापतित्वमा भएको छलफलमा पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दीपेन्द्र चौहान, पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, प्रेस संगठनका संयोजक निरज पिठाकोटे, प्रेस युनियनका अध्यक्ष रामनारायण कुर्मी, संघिय प्रेस फोरमका अध्यक्ष आरके पटेल लगायतका बिभिन्न राष्ट्रिय तथा स्थानिय सञ्चार माध्ययमा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा भएको लगभग ३ सातापछि पत्रकारसँग भेटघाट गर्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले पर्सामा भइरहेको बिकास निर्माणका गतिविधि, प्रशासनिक काम कारवाही, शान्ति सुरक्षा जस्ता सबै समुदायसँग सरोकार राख्ने बिषयबस्तुमा सबैको साथ र सहकार्यसँगै पत्रकार तथा सञ्चार माध्यमको सहयोगमा सुधार गर्दै जाने बताउनुभयो । बिगतका प्रमुख जिल्ला अधिकारीले थालनी गरेका सकारात्मक कार्यहरुलाई निरन्तरता दिने र केही कमी कमजोरीलाई सुधार्दै लैजाने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको थियो ।
सेवाग्राहीलाई सहजतापुर्वक सेवा प्रवाह गर्न तर्फ आफु सम्बेदनशिल रहेको बताउँदै डिजिटलाईज्ड र सेवाग्राही मैत्री सेवा प्रदानतर्फ अग्रसर रहेको बताउनुभयो । काम गर्ने वातावरण निर्माणका लागि कार्यालयभित्र बिग्रिएको सिसि क्यामेराको मर्मत गरेर थालनी गरेको, फ्रि वाईफाईको सुविधा तथा डिजिटल नागरीक वडापत्रको व्यवस्था गरेर सुधारका कामहरुको थालनी गरेको उहाँको भनाई रहेको थियो । साथै उहाँले पुरानो संरचनाबाट कार्यसञ्चालनमा केही कठीनाई भएको बताउँदै नया भवन निर्माणको प्रक्रिया पनि शुरु भइसकेको जानकारी दिनुभयो ।
सञ्चार माध्यमको सहयोग बिना शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न नसकिने हुँदा सुधार्नुपर्ने कुराहरुमा खबरदारी गर्दै सकारात्मक क्रियाकलापलाई निष्पक्ष रुपमा जनताको माझमा पुर्‍याउन पनि आग्रह गर्नुभयो । कार्यक्रमको सहजिकरण जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सुचना अधिकारी ललित कुमार बस्नेतले गर्नुभएको थियो ।