ज्यानमारा डाक्टरमाथि कारवाही हुनुपर्दछ ः पीडित

8

संतोष रन्जितकार
वीरगंज, १५ पुस ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा प्रभु अस्पतालको लापरवाहीको कारण मृत्यु भएका दुई महिलाको परिवारजनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर पत्रकारहरु समक्ष आफ्नो पीडा पोखेका छन् ।
सो सम्मेलनमा अस्पतालकी डा. लक्ष्मी थापाको लापरवाहीको कारणले गर्दा नै दुवै जनाको मृत्यु भएको उनका परिवारजनले ठाडो आरोप लगाएका हुन् । उनीहरुले अप्रेसनमार्फत बच्चा जन्माएकी बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती निवासी २५ वर्षीय सुनिता देवी ठाकुर र वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोल माइती बस्दै आएकी वर्ष ३० की अमृता श्रेष्ठको मृत्यु भएको थियो । बाराको कलैया उपमहानगरपालिका वडा नं. ४ निवासी मृतक अमृताका श्रीमान मनमोहन साह र बारा पचरौता निवासी सुनिता ठाकुरको जेठान साहेब ठाकुरले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल तथा डाक्टरहरुको लापरवाहीको कारणले आफ्ना प्रियजनहरु गुमाउनु परेको आरोप लगाउनु भयो । मृतक परिवारका सदस्यहरुले हालसम्म अस्पताल तथा डाक्टर मध्ये कसैले पनि उनीहरुको मृत्यु किन र के कारणले भएको नबताएको पत्रकार सम्मेलनमा जानकारी गराए । अप्रेसन भन्दा पहिला दुवै महिलाको अवस्था सामान्य भएपनि अप्रेसन गरेको केही घण्टापछि उनीहरुको स्वास्थ्य एकदमै गम्भिर के कारणले बन्दै गएको त्यसबारेमा कसैले केही नबताएको आरोप लगाए । घटनाको उच्चस्तरीय जाचबुझ हुनुपर्ने, प्रभु अस्पतालकी डा. लक्ष्मी थापाको लाइसेन्स खारेज गर्न, छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीको लगायतका मागहरु मृतक पक्षको रहेको थियो ।
डा. थापाले अप्रेसन नै सही तरिकाले नगरेको तथा प्याथोलोजि जाँचहरुमा पनि गम्भिर त्रुटी भएको, प्याथोलोजि रिपोर्टहरुमा डाक्टरको हस्ताक्षर नहुनु, आफैले गरेको अप्रेसनमा कसरी यस्तो भयो भनेर पीडितहरुलाई नै सोध्नु तथा आफैले लेखेको औषधीले काम गरेन भन्नु आदीजस्ता कुराले गर्दा निजको उपचार पद्दतीमा गम्भिर त्रुटि भएको हामीले महशुस गरेको आफन्तजनहरुको भनाई रहेको थियो ।
अप्रेसन भएर बच्चा निकालिएको दुवै महिला एकै प्रकृतिका लक्षण देखिनु तथा दुवैको मृत्यु हुनु अस्पतालमा भर्ना हुने बिरामी मध्ये ८० प्रतिशत गर्भवती महिलाहरुको नर्मल डिलेभरी हुन नसक्नुले पनि अस्पतालका डाक्टर ज्यानमारा रहेको परिवार सदस्यहरुले आरोप लगाएका थिए । प्रभु जस्तो तथाकथित सुविधा सम्पन्न अस्पताल वीरगंजमा नचाहिएको तथा अस्पताललाई बन्द गरी तत्काल उपचारमा संलग्न रहेका चिकित्सकहरुलाई कारवाहीको जोडदार माग समेत गरेका थिए ।
मृतक सुनिताका जेठान साहेब ठाकुरले अस्पतालले रेफर गर्दा समेत कुनै रिपोर्ट नदिएका कारण भरतपुर पुग्दा पनि त्यहाँका डाक्टरहरुलाई उपचार गर्न समेत कठिनाई भएको बताए । चितवन मेडिकल कलेजका डाक्टरले तपाईहरुको केश बिगारेर ल्याउनु भएको भन्दै केही गर्न नसकिने बताए । यता मेडिकल काउन्सिललाई घटना जाँचबुझको चिठ्ठी लेखेको भन्दै अस्पतालले आफ्नो बचाउ गर्दै आएको छ । अस्पतालले प्रमाणहरु मेटाउने काम पनि जोडतोडले गरिरहेको पीडित पक्षले दावी गरेका थिए । पीडित पक्षले न्यायको लागि प्रशासनको शरणमा जाने तथा ज्यान मार्ने अभियोगमा डाक्टर थापा र अस्पतालमाथि उजुरी दिने बताएका थिए । मृतक दुवै महिलाहरु गर्भवती भएदेखि नै प्रसुती विशेषज्ञ थापाको निगरानीमा बसेर समय–समयमा चेकजाँच गराउंदै आएका थिए । एकै दिनमा दुईवटा ठुलो घटना हुंदा समेत अस्पताल प्रशासनले प्रहरी प्रशासनलाई जानकारी नदिएको पीडित पक्षको आरोप रहेको थियो ।
डा. लक्ष्मी थापाले नर्मल हुने डिलेभरीमा समेत आफन्तजनहरुलाई अनेक किसिमको बहाना तथा त्रास देखाएर अप्रेशन गरी बिगारेको थुप्रै केशहरुको अनुसन्धान सरकारी निकायहरुले यसअघि नै गर्दै आएको भएतापनि हालसम्म उनी दण्डित भएकी छैनन् ।