सडक विस्तारको लागि माटो खन्ने क्रममा डोजरद्वारा पाइपलाइनमा क्षति

9

संतोष रन्जितकार
वीरगंज, १५ पुस ।
वीरगन्जमा सडक विस्तारका क्रममा नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन माथि फेरि डोजर चलेको छ । डोजरले पाइपलाइनमा क्षति पुर्‍याए पनि गम्भीर दुर्घटना हुनबाट भने जोगिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित गण्डक चोक भन्दा ५ सय मिटर पर रहेको बयोधा हस्पिटल अगाडि सडक विस्तारका लागि मंगलबार माटो खन्ने क्रममा डोजरले पाइपलाइनमा क्षति पुर्‍याएको थियो । डोजरले माटो खन्ने क्रममा सडक सतह भन्दा डेढ मिटर गहिराइमा बिछ्याइएको करिब २ मिटेर पाइप लाइनमा क्षति पुर्‍याएको नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो । सडक विस्तारका क्रममा दिवा सपना जेभि कन्ट्रक्शन प्रालिको ना १ ख ७०२२ नम्बरको डोजरले माटो खन्ने क्रममा पाइपलाइनमा क्षति पुगेको यादवले बताउनुभयो । सो क्रममा पाइपलाइन माथि गरिएको ढलान र इन्सुलेशन उप्किएको र पाइपको बाहिरी सतह पनि कोतरिएको तर पाइपको भित्री भागमा क्षति नपुगेकाले सम्भावित ठूलो दुर्घटना हुनबाट जोगिएको यादवले बताउनुभयो । सडक विस्तारमा खटिएका मजदुर र प्राविधीकहरुको लापरवाहीले वीरगन्जमै एक महिनाको अवधीमा दोश्रो पटक पाइपलाइनमा क्षति पुगेको भन्दै यादवले यसमा सडकका ठेकेदारको चरम लापरवाही देखिएको बताउनुभयो । पाइपलाइनमा क्षति पुगेको खबर पाए लगत्तै अमलेखगन्जबाट यादव, निगमका प्राविधीकहरु लिएर घटनास्थलमा पुग्नु भएको थियो, साथै नेपाली सेना र नेपाल प्रहरीको टोली पनि घटनास्थलमा पुगेको थियो ।
डोजरले उप्क्याएको पाइपलाइन माथिको इन्सुलेशन र ढलान, सडकका ठेकेदारबाट मर्मत गर्न लगाइने भन्दै यादवले निर्माणाधिन सडकमा भोलि देखि आयल निगमका इन्जिनियर पाइपलाइन लोकेटर लिएर बस्ने र ती इन्जिनियरको निर्देशनमै सडक निर्माणमा खटिएका मजदुरले सडक खन्ने काम गर्ने बताउनुभयो । यसअघि गत मंसिर २५ गते पनि वीरगन्जकै बाइपास रोड अन्तर्गत गण्डक चोकमा पनि करिब डेढ मिटर पाइपमा डोजरले क्षति पुयाएको थियो । त्यस बेला पनि बाइपास सडक बिस्तार अन्तर्गतको काममा खटिएको डोजरले पाइप कोतरेको थियो ।
भदौ तेश्रो साता देखि सन्चालनमा आएको मोतीहारी रक्सौल वीरगन्ज अमलेखगन्ज अन्तरदेशीय पाइपलाइनको सुरक्षाको लागि बिहान र बेलुका नेपाली सेनाले गस्ती गर्दै आएको छ । यसका साथै पाइपलाइन बिछयाइएको वीरगन्ज अमलेखगन्ज सडकखण्डका केही संवेदनशील क्षेत्रमा २४ सै घण्टा रेखदेखका लागि आयल निगमले ग्रुप फोर सेक्युरीटीका गार्डहरु समेत खटाएको छ ।
आयल निगमका अमलेखगन्ज डिपो प्रमुख यादवका अनुसार पेट्रोलियम पाइपलाइन सडकको जमिनको सतहभन्दा डेढ मिटर गहिराइमा छ । पाइप भन्दा माथि १५ सेन्टिमिटर बाक्लो बालुवा बिच्छ्याइएको छ भने बालुवा माथि एक फिट चौडाई र पुरै पाइपलाइन बराबर लम्बाईको वार्निङ टेप राखिएको छ । टेपको माथि माटोको सतह छ । यसका अलावा पाइपलाइनको हरेक ५० देखि एक सय मिटरको फरकमा सूचना बोर्ड पनि लगाइको छ ।