नेपाल भ्रमण बर्ष २०२० को वीरगन्जमा पनि भव्य शुरुवात

9

संतोष रन्जितकार
वीरगंज, १६ पुस ।
पुस १६ गते बुधबारबाट ईस्वी संवतको नयाँ बर्ष संसारभरि भब्यताका साथ सन् २०२० को स्वागत गरिएको छ । विदेश बस्नेहरु अनि अन्तराष्ट्रिय संस्थाहरुमा काम गर्ने लगायत अन्तराष्ट्रिय सम्वतहरु ईस्वी सम्वत नै संसारभरि हुने भएकाले यो सम्वतको पनि भिन्नै प्रतिष्ठा र उपयोगीता रहेको छ । विक्रम सम्वत भने ईस्वी सम्वत भन्दा ५७ बर्षले अगाडी छ । आजको दिन नेपालमा पनि एकअर्कामा शुभकामना आदान–प्रदान गरेर नयाँ बर्ष २०२० मनाईएको हो ।
आज देशका विभिन्न पर्यटकीय स्थलहरुमा घुम्न जाने, वनभोज खाने र रमाईलो गर्नेहरुको घुईचो लाग्ने गरेको छ । पर्साको ठोरीमा पनि नयाँबर्षमा बढी पर्यटकहरु आउने स्थानको रुपमा चिनिन्छ । खासगरी भारतीय पर्यटकहरु पर्साको ठोरीमा रहेको विभिन्न पर्यटकीय स्थलहरु हेर्न आउने र वनभोज समेत गर्ने गरेका छन् ।
आजको दिन हेटौडाको शहिद स्मारक, मकवानपुर गढी मनकामना डाँडा, बाराको निजगढमा रहेको मोहरी, गढीमाई सिम्रौनगढ, अमलेखगन्ज रौतहटको नुनथर लगायतका स्थानहरुमा घुम्न जानेहरुको घुईचो लाग्ने गरेको छ ।
नेपाल भ्रमण बर्ष २०२० को वीरगन्जमा पनि भव्य शुरुवात गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघ, भिजिट मधेस नेपाल, पर्यटन पत्रकार संघ, व्यवस्थित वीरगन्ज अभियान लगायतले विहान नेपाल भ्रमण बर्ष २०२० लाई स्वागत गर्दै प्रभातफेरी निकालेको थियो ।
वीरगन्ज घण्टाघरबाट निकालिएको प्रभातफेरी माईस्थान, आदर्शनगर, अलखिया मठ, कैलाश होटल चोक, घडिअर्वा पोखरी हुदै पुनः घण्टाघरको उत्तरमा रहेको विपी उद्यान पार्कमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँर, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार खड्का, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का, प्रेस संगठन नेपाल पर्साका संयोजक नीरज पिठाकोटे, होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्त, भिजिट मधेस नेपालका संयोजक ओमप्रकाश सर्राफ, पर्यटन पत्रकार संघका अध्यक्ष शंकर आचार्य, व्यवस्थित वीरगन्जका संयोजक दिलिपराज कार्की लगायत नेपाली सेना, सशस्त्र प्रहरी, वीरगन्ज नर्सि· क्याम्पसका विद्यार्थीहरु, विभिन्न संघ संस्थाका अभियन्ता र युवाहरुको सहभागिता रहेको थियो ।