राजयोगिनी दादी जानकीको १०४ औं जन्मोत्सव तथा नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान

15

संतोष रन्जितकार
वीरगंज, १६ पुस ।
ब्रहृमाकुमारी राजयोग सेवा केन्द्र वीरगंजले बुधबार अन्तराष्ट्रिय नया वर्ष २०२० को शुभारम्भ तथा संस्थाकी मुख्य प्रशासिका राजयोगिनी दादी जानकीज्यूको १०४ औं शुभजन्मोत्सवको सुखद् अवसर पारेर ब्रहृमाकुमारी रविना दिदीको संयोजकत्व तथा वीरगंज महानगरका मेयर विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा दिप प्रज्वलन एवं केक कटिंग गरी शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
सो अवसरमा ब्रहृमाकुमारी रविना दिदीले नगरवासी तथा सम्पूर्ण देश विदेशमा रहनुभएका सबै मानवहरुको जीवनमा भौतिक समुन्नतिका साथै चारित्रिक तथा आध्यात्मिक उन्नतिको पनि शुभकामना दिनु भएको थियो । उहाँले आफुभित्र रहेका सबै पुराना कमी कमजोरी, दुर्गुण र वैमनस्यतालाई पुरानो वर्षसंगै बिदाई दिदै नयाँ वर्षमा नयाँ सकारात्मक सोंच, दिव्य संस्कार र श्रेष्ठ कर्मको विजारोपण गर्न सकेमा नयाँ वर्ष मनाएको सार्थक हुने बताउनु भयो ।
यसै गरी मेयर सरावगीले लगातार करिब ३ वर्ष सम्म ब्रहृमाकुमारी सेवा केन्द्रमा श्रवण गरेको ईश्वरीय महावाक्य र राजयोगको अभ्यासले आजसम्म पनि आफ्नो व्यापारिक, सामाजिक तथा राजनैतिक जीवनमा विभिन्न परिस्थितिहरुलाई सहर्ष पार गर्ने उर्जा प्रदान गरेको अनुभव साझा गर्नुहुँदै आध्यात्मिकता र राजयोग साधनाको समाजको विकास र उत्थानमा निकै महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य गणेश लाठ, नेपाल भारत मैक्री संघका केन्द्रिय अध्यक्ष राजकुमार सिन्धी, डा. संयुत्ता साह, शिक्षक विजय यादव, रेडियो वीरगंजका उज्वल घिमिरे लगायतका व्यक्तिहरु र राजयोगका साधक साधिकाहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।