उद्योगको प्रदूषणबाट स्थानीयवासी पीडित

3

निजगढ, १७ पुस (रासस) ः
बाराको जितपुर–सिमरा क्षेत्रका स्थानीयवासी उद्योगधन्दाको धुँवा तथा धुलोमा बस्न बाध्य भएका छन् ।
सरकारले कुन क्षेत्रमा उद्योगधन्दा चलाउन अनुमति दिने, कुन क्षेत्रमा मानव बस्ती बसाल्दा उपयुक्त हुन्छ भन्ने अवधारणा नल्याउँदा स्थानीयवासी धुँवा, धुलोमा बस्न बाध्य भएका हुन् ।
जितपुर–सिमरा क्षेत्रमा सञ्चालित उद्योगधन्दाका कारण निस्कने धुलो तथा धुँवाले आजित भएका स्थानीयवासी र उद्योगी–व्यापारीबीच यस विषयमा पटक–पटक छलफल भएको भए पनि त्यसको निचोड अहिलेसम्म पनि निस्कन सकेको छैन । जसकारण यस क्षेत्रका उद्योगधन्दाबाट निस्कने धुँवा धुलोले यस क्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् ।
यस विषयलाई लिएर उद्योगी र स्थानीयवासीबीचको पटक पटको विवादमा स्थानीय प्रहरी प्रशासन मौन बस्नुले झन् समस्या ल्याउने वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले बताउनुभयो ।
बारा र पर्सा जोड्ने व्यापारिक मार्गका उद्योगीले पनि सरकारबाट आवश्यक सहयोग र सुरक्षा नपाएको गुनासो गरेका छन् । मुलुककै अर्थतन्त्रको मेरुदण्डको रूपमा यो व्यापारिकमार्गको प्रयोग हुने गरेको भए पनि सरकारले यस मार्गलाई विशेषरूपमा हेर्न नसकेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
मुलुककै अर्थतन्त्रको मेरुदण्डलाई सरकारले उपेक्षा गरेको उनीहरुको आरोप छ । साथै साना तथा ठूला व्यापार–व्यावसायलाई सरकारले एउटै नजरले हेर्ने गरेका कारण पनि स्थानीय उद्योगीहरुको मनोबल घट्ने गरेको उद्योग वाणिज्य संघ बारा शाखा जितपुरका सल्लाहकार गणेशप्रसाद साहले बताउनुभयो ।
ठूलो पूँजी र धेरै जनशक्तिको प्रयोग गरेर उत्पादन गर्ने उद्योग र साना तथा थोरै जनशक्तिमा पनि सञ्चालन हुने उद्योगी तथा व्यवसायीहरुलाई एउटै नियमले बाँध्न खोजे साना उद्योगीमा निराशा आउने साहको भनाइ छ । औद्योगिक नगरीको रूपमा परिचित जितपुर–सिमरा क्षेत्र विगतको तुलनामा केही सुरक्षित बन्दै गएको भए पनि आवश्यक मात्रामा सुरक्षित हुन नसकेको उद्योगीले बताएका छन् ।
सरकारले मुलुककै अर्थतन्त्रको मेरुदण्ड यस क्षेत्र र यस क्षेत्रका व्यापारी व्यावसायी तथा उद्योगीको मनोबल बढाउने गरी सुरक्षा व्यवस्था गरी त्यसलाई निरन्तरता दिँदै अझ प्रभावकारीरूपमा अगाडि बढाउनुपर्ने उद्योगी व्यापारीको सुझाव छ । यसका लागि बारा र पर्साका सुरक्षा निकायको बीचमा समन्वय र छलफल निरन्तर हुनु आवश्यक रहेको उनीहरुले बताएका छन् । यस क्षेत्रमा सञ्चालित उद्योगधन्दाबाट निस्कने प्रदूषण र धुँवाधुलोका कारण आफूहरु हैरान भएको भन्दै स्थानीयवासीले पटक–पटक स्थानीय प्रशासनसँग आग्रह गरिरहेको भए पनि कुनै सुनुवाइ नभएको स्थानीय पवनकुमार सिंहले बताउनुभयो ।
स्थानीय उद्योगबाट निस्कने प्रदूषण तथा धुलोधुँवाका साथै दुर्गन्ध र ठूलो आवाजले आफूहरु चिन्तित बनेको स्थानीय पवित्राकुमारीले बताउनुभयो । उद्योगबाट निस्कने कच्चा पर्दाथ उद्योग बाहिर ढलमा मिसाउने, उद्योगमा उडेको धुँवाधुलोको व्यवस्थापन पनि नगर्ने र मानव बस्तीलाई असर पर्नेगरी काम गरिरहेकामा आफूहरुले पटक–पटक स्थानीय सरकारलाई जानकारी गराउँदासमेत स्थानीय सरकार मौन बस्नुले आफूहरु थप पीडित बनेको उनीहरुको भनाइ छ ।
स्थानीय सरकारलाई अधिकार दिएको भए पनि स्थानीय सरकार तथा स्थानीय प्रहरी प्रशासनले अनुगमनको नाममा अनुगमन मात्र गरेको तर त्यसलाई कार्यान्वयन गर्नेतर्फ ध्यान नदिएको स्थानीय विदुर खड्काले बताउनुभयो । केही दिन पहिला पनि स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासनले यस क्षेत्रका उद्योगको अनुगमन गरेको तर त्यसको परिणाम केही नआएको खड्काको भनाइ छ । साथै यो समस्या कुनै नयाँ नभएर पुरानै भएको र यो समस्या समाधान पनि नहुने स्थानीयवासीको भनाइ छ ।