कालिकामाईका स्थानीयहरुद्वारा तालिममा अनियमितता भएको भन्दै तालाबन्दी

36

संतोष रन्जितकार
वीरगंज, १७ पुस ।
पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ प्रशुरामपुरमा संचालित एक तालिममा स्थानियहरुले अवरोध गरेका छन् । गाउँपालिकाद्वारा संचालित तालिममा अनियमितता भएको भन्दै वडावासीहरुले तालिम भइरहेको बेलामा नै कोठामा तालाबन्दी गरेका हुन् ।
स्थानियहरुको तालाबन्दीका कारण तालिममा सहभागिहरु केही बेर कोठा मै थुनिएका थिए । पछि प्रहरीले बल प्रयोग गरी ताल्चा फोडेर सहभागि महिलाहरुलाई बाहिर निकालेका थिए ।
श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक बिधालय कट्टी बलुवामा संचालित प्रदुषण र फोहोर मैला ब्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रमलाई स्थानियहरुले अवरोध गरेका थिए ।
स्थानियहरुको अनुसार बिधालय चलिरहदा तालिमको लागी बिधार्थीहरुलाई कक्षा कोठाबाट हटाई तालिम संचालन गरिएको थियो । यसका साथै वडा कार्यालयले कुनै काममा पनि आफ्नै पार्टीका मान्छेलाई राख्दै आएकोले बाध्य भएर विरुद्ध गर्नु परेको उनीहरुको भनाई रहेको थियो ।
गैस चुल्हो देखी औषधी छर्ने टयांकी सम्म आफ्नै पार्टीका मान्छे र आफ्नै घरपरिवारलाई जिम्मा दिइएको छ भने तालिममा पनि साविक वडा नम्बर २ का कुनै महिलालाई सहभागी नगराएकोले बिरोध गरिएको स्थानीय रंजित कुमार साहले बताए । वडा कार्यालयले गर्ने हरेक काममा सबै जातजाती, टोलवासी, साविक वडाको ख्याल गर्नुपर्ने भन्दै महिलाहरुको तालिममा पनि आफ्नो साविक वडा नम्बर २ को सहभागीता नभएको भन्दै बिरुद्ध गरिएको स्थानिय साहले जानकारी गराएका थिए । सो तालिममा साबिकको प्रत्येक वडाबाट २० जनालाई सहभागी गराउनु पर्ने भएकोले साविकको वडा नम्बर २ को महिलाहरुको तालिममा सहभागी नगराई बेवास्ता गरिएकोले तालिमलाई अवरुद्ध गरिएको स्थानियहरुको भनाई थियो ।
तालिम अवरुद्ध भएपछि केही बेर विवाद र झडप समेत भएको थियो । यस बिषयमा गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहासंग बुझ्दा आफुलाई केही थाहा नभएको बताए ।
वडा नं. ४ का वडाध्यक्ष हरिओम साह कलवारले साविक गाबिस प्रशुरामपुरको वडा नं. १ देखी ९ सम्मको लागि तालिम संचालन भएको बताए । उनले भने जनचेतना कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरिय तालिम भइरहेको थियो, सोही क्रममा विवाद भएको हो । वडा नं. ४ को एक सय ८० जनाको लागि तालिम संचालन गरिएको हो । बजेटको बिषयमा सोध्दा आफुलाई थाहा नभएको र सचिवसंग सोध्नु पर्ने प्रतिक्रिया दिए ।
यस बिषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहसंग बुझ्न खोज्दा उनको फोन नलागेका कारण सम्पर्क हुन सकेन ।
त्यसपछि गाउँपालिकाको योजना शाखा प्रमुख सुनिल रौनियारसंग बुझ्दा बजेटको बिषयमा आफुलाई पनि थाहा नभएको बताए । त्यसैगरी गाउँपालिकाका उपप्रमुख राजेश चौरसिया र लेखापाल मन्दिप महतोसंग सम्पर्क गर्न खोज्दा वहाँहरुको फोन लागेन, वडा सचिव बिक्रम चौरसियाको फोन लागेपनि वहाँले फोन नउठाएको कारण केही जानकारी हुन सकेन ।
गाउँपालिकाका विभिन्न जिम्मेवार व्यक्तिहरुलाई सो तालिमको बजेटको बिषयमा थाहा नभएको हो कि थाहा भएर पनि अनियमितता बाहिर आउने डरले बुझ पचाएका हुन् । यसमा गम्भिर प्रश्न खडा भएको छ ।