पीडित पक्षद्वारा डा. थापा विरुद्ध उजुरी दर्ता

82

संतोष रन्जितकार
वीरगंज, १८ पुस ।
वीरगंज पानीटंकीमा रहेको प्रभु अस्पताल एण्ड रिसर्च सेन्टरकी डा. लक्ष्मी थापा विरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको छ ।
केही दिन पहिला अस्पतालमा मृत्यु भएका २ महिलाका आफन्तहरुले छुटा–छुट्टै अस्पतालकी डा. थापा विरुद्ध कर्तव्य ज्यान मुद्दा सम्बन्धी उजुरी दिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
अस्पतालमा एकै दिन अप्रेशन भएका बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचरौता निवासी २५ बर्षिय सुनिता देबी र वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोल निवासी ३० बर्षिय अमृता श्रेष्ठको मृत्यु भएको थियो ।
मृतक सुनिताका जेठान साहेब ठाकुरले कारवाहीको माग गर्दै दिएको उजुरीको दर्ता नं. ६०४९ र अमृताका श्रीमान् मनमोहन साहको उजुरीको दर्ता नं. ६०५० रहेको पीडित पक्षले जानकारी दिए ।
अस्पतालकी डा. लक्ष्मी थापाले अप्रेशन गरेर प्रसुती गराएकी दुबै जनाको मृत्यु भएको थियो । दुबै जनाको आफन्तहरुले अस्पताल र डा. थापाको लापरवाहीको कारण मृत्यु भएको भन्दै आवश्यक कारवाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।
मृत्युको कारण बारे अस्पतालले पनि बताउन सकेको छैन् भने मृत्यु पछि अस्पतालको प्रसुती सेवा बन्द भएको छ । तर मृत्यु भएका दुबै जनाको पोष्टमार्टम समेत नहुनुले घटना दबाउन खोजिएको भनी प्रश्न उठन थालेको छ ।