सिर्सियावासीको आन्दोलन एक हप्ताको लागि स्थगित

21

संतोष रन्जितकार
वीरगन्ज, २१ पुस ।
वीरगंज २५, ड्राइपोर्टमा जारी सिर्सियावासीको आन्दोलन एक हप्ताको लागि स्थगित भएको छ । गाउँ अधिग्रहण विरुद्धको संघर्ष समितिको आयोजनामा आइतबार देखी सुरु भएको आन्दोलन एक हप्ताको लागि स्थगित भएको हो ।
आन्दोलनका कारण सुक्खा बन्दरगाहा र आईसिपीको सम्पूर्ण कामकाज पूर्ण रुपले ठप्प भएपछि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार संघर्ष समितिसंग आन्दोलन बारे छलफल गरेका थिए ।
सो छलफलमा प्रजिअ बस्नेतले सरकार संग तीन वटा विकल्प छ, मुआब्जाको पुनरावलोकन, गाउँनै अन्य स्थानमा व्यवस्थापन गर्न वा योजना नै सार्ने भएकोले स्थानिय स्तरबाट यसको समस्या समाधान हुन नसक्ने भएकोले र हाल गृहमन्त्री विदेश भ्रमणमा रहेकाले एकहप्ताको लागि आन्दोलन स्थगित वा आन्दोलनको स्वरुप परिर्वतन गर्नुपर्ने आग्रह गरेका थिए । सो दरम्यान संघर्ष समितिले गृहमन्त्री बिदेश भ्रमणमा रहेकाले र उनलाई आउन ४/५ दिन लाग्ने भएकोले एक हप्ताको लागि आन्दोलन स्थगित गर्न निर्णय गरेको संघर्ष समितिका अध्यक्ष अम्बिका प्रसाद कुर्मीले बताए ।
स्थानीयले आन्दोलन सुरु गरेपछि सुक्खा बन्दरगाहबाट मालबस्तु बाहिर लैजाने ल्याउँन सकिएको छैन तथा नजिकै रहेको आइसिपी भन्सारमा पनि गाडी आउन जान नसकेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले प्रजिअ बस्नेतलाई बताए ।
सो अवधिमा पनि सिर्सियावासीको मांग सम्बोधन नभए त्यस पछि बैठक बसी यस भन्दा पनि कडा थप आन्दोलनको कार्यक्रम तय गरिने अध्यक्ष कुर्मीले जानकारी गराए ।
सो छलफलमा संघर्ष समितिका उपाध्यक्ष भिखर चौधरी, नेपाली काँग्रेस पर्सा जिल्ला सदस्य मोहमद साहबुदिन, पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवँर, नेविसंघका युवा नेता सुधिर पटेल, अनेरास्ववियका नेता निजामुदिन मियाँ लगायतको सहभागिता रहेको थियो ।