उपभोक्ता हित संरक्षण मंचका महानगर अध्यक्ष भुजेलद्वारा पाउरोटी उद्योग अनुगमन

पाउरोटी उद्योगहरुले उपभोक्तालाई ठगीरहेको खुलासा

71

संतोष रन्जितकार
वीरगंज, २२ पुस ।
वीरगंज महानगरपालिकामा रहेका पाउरोटी उद्योगहरुले उपभोक्ताहरुलाई ठगीरहेको खुलासा भएको छ । पाउरोटी उद्योगहरुले उपभोक्ताहरुको स्वास्थ्यसंग खेलवाड हुने गरी ठगीरहेको भेटिएको हो ।
उपभोक्ता हित संरक्षण मंच वीरगंज महानगरका अध्यक्ष अजित भूजेलले अनुगमन गर्ने क्रममा वीरगंज वडा नं. ४ स्थित १ किराना पसलमा पुगी पाउरोटी चेकजाँच गर्दा ठुलो पाउरोटीमा च्याम्पियन मिल्क ब्रेड लेखिएको तर उद्योगको नाम, उत्पादित मिति, मुल्य, तौल र कहिलेसम्म प्रयोग गर्न सकिन्छ भन्ने केही नलेखिएको र अर्को सानो पाउरोटीमा सादा प्लाष्टिकमा प्याक गरी भित्र एउटा स्लिपमा कम्पनीको नाम सुपर गोल्डेन ब्रेड उद्योग वीरगंज, श्रीपुर–१४ हाल ११ रजिष्ट्रेशन नं. ९६/०५१/०५२ पान नं. ३०४५१८१६४ रहेको तथा उत्पादित मितिहरु केहि नलेखिएको भेटिएको थियो ।

सोको आधारमा सोधपुछ गर्दै जांदा विना इजाजत खुलेको पाउरोटी उद्योग र इजाजत लिएका पाउरोटी उद्योगहरुले च्याम्पियन मिल्क ब्रेड लेखेको र्‍यापर बजारबाट सस्तो दरमा किनेर प्याकि· गरी बिक्री वितरण गर्ने गरेको पाइएको थियो । सो च्याम्पियन लेखेको र्‍यापर कसैको आफ्नो ब्राण्ड नभएको तथा उद्योगहरुले प्रिन्ट गर्ने प्लाष्टिकको खर्चभन्दा कम खर्चमा र सहज–सुलभ तरिकाले पाउने भएको हुनाले सोको प्रयोग गरिरहेको उद्योग व्यवसायीहरुले बताएका थिए । सो उद्योगी व्यवसायीहरुसंग उत्पादित मितिको बारेमा सोधपुछ गर्दा व्यवसायीले भुलचुकले छुट्न गएको जानकारी दिएका थिए । पाउरोटी उद्योगहरुले पाउरोटी, केक, बिस्कुट, नमकीन पप इत्यादीहरु उत्पादन गरिने समेत जानकारी दिएका थिए ।
त्यसैगरी लक्की पाउरोटी उद्योग रानीघाट–११ मा पुग्दा त्यहाँ पनि त्यस्तै हुबहु गर्ने गरेको भेटियो ।
सो सम्बन्धमा अध्यक्ष भुजेलले एउटा उद्योगले आफ्नो कम्पनीको नामको सट्टामा अर्को नामको र्‍यापर प्रयोग गर्नु तथा च्याम्पियन ब्राण्डका पाउरोटी बिक्री वितरण गर्नु गैरकानूनी भएको बताएका थिए । उनले यो च्याम्पियन ब्राण्ड लेखेको प्रिन्टेड र्‍यापर आखिर कहाँ छापिन्छ भन्ने प्रश्न समेत गर्दा उद्योगी व्यवसायीहरुले सोको बारेमा हामीलाई थाहा नभएको र बजारमा सहजै पाउने भएको बताएका थिए । अध्यक्ष भुजेलले यस्तो कार्य गर्ने उद्योगी व्यवसायीहरुमाथि कारवाही हुनुपर्ने बताएका थिए । उनले यसको लागि भोली बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत दर्ता गराउने जानकारी दिएका थिए ।