प्रेम सम्बन्धको कारण आमा बुवाद्वारा आफ्नै छोरीको हत्या

11

संतोष रन्जितकार
वीरगन्ज, २२ पुस ।
गाउँकै युवकसँग प्रेम सम्बन्ध राखेको निहुँमा एक किशोरीको उनकै बुवा आमाले हत्या गरेको घटना तीन हप्ता पछि सार्वजनिक भएको छ । पर्साको पोखरीया नगरपालिका ९ शिवबर्वा बस्ने १५ वर्षीया पुनिता कुमारीको उनकै बुवा,आमा र काकाले हत्या गरी शव गाउँ नजिकको खोला छेउमा लगेर जलाइ दिएको घटना सार्वजनिक भएको हो ।
हत्यामा संलग्न रहेका पुनिताका बुवा वीरेन्द्र महत्तो तत्वा फरार छन् । उनकी आमा शिवकली देवी, काकाद्वय सन्तोष महत्तो तत्वा, राजेन्द्र महत्तो तत्वा र त्यहि परिवारमा बस्दै आएका ट्रयाक्टर चालक जितेन्द्र यादवलाइ भने प्रहरीले पक्राउ गरेको छ ।
पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार, पुनिताको हत्या गरी शव जलाएको घटनामा संलग्न रहेको आशंकामा चारजनालाई सोमबार पक्राउ गरेको हो । राठौरले भने, पुनिताका बुवा वीरेन्द्रको खोजी भइरहेको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको रौठौरले बताए ।
गाउँकै एक युवकसँग प्रेम सम्बन्ध रहेको सुइको पाएपछि समाजमा परिवारको बेइज्जत हुने डरले परिवारका सदस्यले पुनिताको हत्या गरी जलाई दिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक राठौरले बताए ।
पक्राउ परेकाले सो घटना २०/२२ दिन पहिले भएको बताएका छन्, तर यकिन मिति अझै खुलेको छैन । प्रहरीले सोमबार शव जलाइएको स्थानमा पुगेर शवका केही अवशेष संकलन गरेर ल्याएको छ, परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी भइरहेको राठौरले जानकारी दिएका थिए ।