ठोरीमा हात्ती तथा जिप सफारी महोत्सव शुरु गर्ने ः अध्यक्ष श्रेष्ठ

12

संतोष रन्जितकार
वीरगंज, २३ पुस ।
पर्साको ठोरीमा हात्ती तथा जिप सफारी सुरु हुने भएको छ । सुशासनयुक्त सक्षम एंव सबल स्थानिय सरकार पुर्वाधार निर्माण, कृषी, पर्यटन र सशक्त्तिकरण ठोरीको प्रमुख आधार नाराको साथको भिजिट नेपाल २०२० को अवसरमा हाती तथा जिप सफारी सुरु गर्न लागिएको हो ।
ठोरी गाउँपालिकाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्सा र चितवन राष्ट्रिय निकुन्जसँग जोडिएको ठोरी गाउँपालिकाले सफारी सुरु गर्नको लागि सुर्वणपुरमा पुस २५ देखि २९ गतेसम्म पहिलो हात्ती तथा जिप सफारी महोत्सवको आयोजना गर्ने गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी गराएका थिए ।
प्राकृतिक सम्पदाले भरिपूर्ण ठोरी गाउँपालिकामा थुप्रै पर्यटकीय स्थलहरु रहेकोले यो हात्ती र जिप सफारी महोत्सवको माध्यमबाट प्रचार–प्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजनामा रहेको उनले बताएका थिए ।
ठोरी ५ सुर्वणपुरस्थित गडुवालाइनमा आयोजाना हुने महोत्सवको उद्घाटन संघीय सरकारका वनमन्क्री शत्तिबहादुर बस्नेतले गर्ने उनले जानकारी गराए । सफारीमा निकुन्जमा दुलर्भ पाटेबाघ, हात्ती, गैंडाका साथै चित्तल, निलगाई, हरिण, मृग, बँदेल, चराचुरुङगी लगायतका जीवजनावर रहेकाले सफारीका क्रममा पर्यटकले विभिन्न किसिमका वन्यजन्तुहरु देख्न पाउने उनको भनाई थियो ।
हात्ती र जिप सफारीका लागि नेपालीलाई ६ सय र विदेशीलाई ११ सय रुपैयाँ शुल्क निर्धारण भएको उनले बताए । ५ दिने हात्ती र जिप सफारी महोत्सवमा प्रत्येक दिन राष्ट्रिय र स्थानीय कलाकरको सहभागीतामा सांस्कृतिक कार्यक्रम, नेपाल र भारतका नाम चलेका कुस्ती खेलाडीको समेत सहभागिता रहनेछ ।
महोत्सव आयोजनामा कुल २० लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये गाउँपालिकाले महोत्सवका लागि १२ लाख रुपैयाँ छुट्याएको र अरु बाँकी रकम अन्य शिर्षकबाट गाउँपालिकाले लगाउने अध्यक्ष श्रेष्ठले बताए ।
पत्रकार सम्मेलनमा ठोरी ५ सुवर्णपुरका वडाध्यक्ष रामबहादुर पाख्रिन, सुनाखरी मध्यवर्ती सामुदायिक वनका उपभोक्ता समिति सुवर्णपुरका अध्यक्ष देवीप्रसाद दाहाल, पन्चमुखी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र साह लगायतको उपस्थिति रहेको थियो । सो सम्मेलनको संचालन महोत्सव प्रचार–प्रसार समितिका माधव तिमिल्सिनाले गरेका थिए ।