काठमाण्डौं विमानस्थलको विकल्प निजगढ विमानस्थल हो ः अर्थमन्त्री खतिवडा

प्रहरीलले व्यापारीको गोदाममा छापा मारेर बदनाम गराउनु भएन ः सांसद यादव

29

संतोष रन्जितकार
वीरगंज, २५ पुस ।
वीरगंज उद्योग वाणिज्य संघको ४४ औं साधारण सभाको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले वीरगंजको होटेल भिस्वामा आयोजित एक भव्य कार्यक्रममा गर्नुभएको छ ।

सो उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री खतिवडाले यो सरकारको आँखा, कान सबै सध्य रहेकोले जोडले बोल्नु नपर्ने भन्दै मसिनो गरी बोलेको कुरा पनि सुन्न सक्ने सामर्थ्य भएको बताउनु भयो । उनले पर्सा जिल्लाबाट यति कर तिर्‍यो, त्यति कर तिर्‍यो ४० प्रतिशत हाम्रो जिल्लाको राष्ट्रिय बजेटमा योगदान छ यो भनिरहनु पर्ने कुरा होइन । आखिर यहाबाट भित्रिएको सामान मुलुकको सम्पूर्ण कुनाकाप्चामा पुग्ने गरेकोले त्यो सामान उपभोग गर्ने उपभोक्ताहरुले पनि कर तिरेको हुन्छ भन्दै वीरगंज नगरको पूर्वाधार विकासको लागि तपाईहरुले बहस गर्नुस् हामी विकासको बारेमा सोच्छौ भन्दै डा. खतिवडाले पथलैया देखि वीरगंजसम्मको औद्योगिक करिडोर बनाउन सरकारलाई कुनै दुविधा नभएको बताउनु भयो ।
अर्को आर्थिक वर्षमा हुलाकी राजमार्ग तयार हुने र २०८१ साल सम्ममा फास्टट्रयाक तयार भइसक्ने बताउंदै काठमाण्डौं विमानस्थलको विकल्प निजगढ विमान स्थल हो र यस विषयमा लगानीबोर्डबाट निर्णय भइसकेको चर्चा गर्दै संघीय सरकारले विश्व विद्यालय थप्ने मुडमा नरहेको भन्दै प्रादेशिक तहमा प्रदेश सरकारले विश्व विद्यालय खोल्न सक्छ त्यसको लागि सहयोग गर्ने वचनवद्धता प्रकट गर्नुभयो । सरकारले व्यापारीहरुलाई विश्वासमा लिएर अगाडी बढ्ने तयारी गरेको भन्दै अर्थमन्त्री खतिवडाले गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा विदेश जानेहरुको संख्या घटेको कारणले रेमिटेन्स घटेको भन्दै रेमिटेन्स आधारित अर्थतन्त्र हामी चाहदैनौ भन्नु भयो ।

सो कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा सहभागि सांसद प्रदिप यादवले मधेशको लाइफलाइनको रुपमा रहेको हुलाकी राजमार्ग बन्छ कि बन्दैन भनी प्रतिप्रश्न गर्दै निजगढमा जुन सुकै हालतमा पनि विमानस्थल बन्नुपर्छ भन्नुभयो । सांसद यादवले सरकारले मरिच, छोहडा, सुपारी, केराउ ल्याउनको लागि इजाजत दिने तर गोदाममा राखेपछि स्थानीय प्रहरीले गएर छापामारी गरेर व्यापारीलाई बदनाम गराउने काम रोकिनु पर्छ भन्नु भयो । भन्सारबाट राजश्व तिरेर छुटेको माल प्रहरीले समातेर राजश्व अनुसन्धानमा पुर्‍याएर अनावश्यक दुःख दिने कामको पनि अन्त्य हुनुपर्ने चर्चा गर्दै यदि व्यापारी दोषी छ भने व्यापारीलाई नत्र भन्सारको कर्मचारी दोषी छ भने त्यसमाथि कारवाही प्रक्रिया अगाडी बढाउनु पर्ने माग गर्नुभयो ।

वीरगंज उद्योग वाणिज्य संघको अधयक्ष गोपाल केडियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सभासद ओमप्रकाश शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान, वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।