पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

10

संतोष रन्जितकार
वीरगंज, २४ पुस ।
मधेशको पर्यटन प्रवर्द्धनका लागि २२ जिल्लामा आयोजना गरिने पर्यटन फ्रवर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यत्रम बिहिबार वीरगञ्जबाट शुरुवात गरिएको छ ।
भिजिट मधेशको आयोजना तथा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं.२, वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका र ठोरी गाउँपालिकाको सयुँक्त सहकार्यमा भएको कार्यक्रमले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पनि टेवा पुग्ने बिश्वास गरिएको छ । भिजिट नेपाल भिजिट मधेश बिना पुरा हुन सक्दैन भन्ने मुल नारासहित शुरु भएको यस अभियानले मधेशमा भएका प्राकृतिक तथा सांस्कृतिक धरोहरको प्रचार–प्रसार एवम् बिकास र समृद्धिमा पनि सघाउ पुग्नेमा प्रदेश नं. २ का पर्यटन राज्यमन्त्री सुरेश कुमार मण्डलले जोड दिनुभयो ।
भिजिट मधेश पर्साका संयोजक किसन सर्राफको सभापतित्वमा भएको कार्यक्रममा भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले अवधारणा–पत्र प्रस्तुत गर्दै ३ तहकै सरकारको सहकार्य, होटेल तथा पर्यटन व्यवासयी संघ, स्थानिय प्रशासन, सञ्चारकर्मी, राजनितिक दलका प्रतिनिधि, स्थानिय लगायत सबैले आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, पोखरीया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, वीरगञ्ज उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष सुबोध गुप्ता, भिजिट मधेशका ग्लोबल कोर्डिनेटर प्रमोद राज सर्राफ, भिजिट मधेशका संस्कृति राजदुत गायत रविराज साह, होटेल तथा पर्यटन व्यवासायी संघ प्रदेश न. २ का सचिब तवरेज आलम, पर्साका अध्यक्ष हरी पन्त लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा भिजिट मधेशका केन्द्रिय सदस्य एवम् सामाजिक अभियन्ता प्रकाश थारुले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।