सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको छ ः अध्यक्ष चौहान

29

संतोष रन्जितकार
वीरगंज, २४ पुस ।
भोजपुरीका वरिष्ठ पत्रकार एवं कवि स्व. बिजय प्रकाश विनको श्रद्धाञ्जली सभा बिहिबार सम्पन्न भएको छ । वीरगंज मुर्ली स्थित रहेको नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा भएको श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले उनको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली अपर्ण गरेका थिए ।
श्रद्धाञ्जली सभामा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले स्व. बिनले भोजपुरी भाषाको लागि पुर्‍याएको योगदानको समाजमा चिनाउन जरुरी रहेको बताए । बिन जिउँदो रहुन्जेलसम्म र उनले चलाएको भोजपुरी भाषाको पत्रिका भोजपुरी बाहुल्य यो क्षेत्र भएतापनि सहयोग नपाएकोले गर्दा सो पत्रिका बन्द हुन पुगेको बताउंदै जिउंदो हुनेबेलासम्म अवहेल्ना गर्ने र मरेपछि गुणगान गाउने संस्कृतिको अन्त्य गर्नुपर्ने बताउनु भयो । अध्यक्ष चौहानले वर्तमान सरकारले ल्याउन लागेको सुचना प्रविधि विधेयक आम नागरिक र पत्रकारहरुले बोल्ने अधिकारमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाउंदै वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको चर्चा गर्नुभयो । वहाँले समाजिक संजाल समेत दर्ता गराउनु पर्ने उल्लेख रहेको विधेयक ल्याएर सरकार नागरिकको स्वतन्त्र अभिव्यक्तिलाई समेत दबाउन खोजेको धारणा राखेका थिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्व. बिनको स्मृतिमा प्रत्येक बर्ष पुस ११ गते श्रद्धाञ्जली सभा गरिने बताए । यसका साथै भोजपुरी पत्रकार प्रतिष्ठान गठन गरि प्रत्येक बर्ष भोजपुरी भाषामा कलम चलाउने एक जना पत्रकारलाई रु ११ हजार नगद सहित पुरस्कार दिने घोषणा समेत गरेका थिए । उनले भोजपुरी मै बोल्दै भोजपुरी भाषाको संरक्षणमा हामी कही न कही चुकेको बताउदै स्व. बिनको कृति प्रकाशनको सम्पूर्ण प्रबन्ध गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यसैबीच पत्रकार रितेश त्रिपाठीले पत्रकारिता र साहित्य जगतमा कलम चलाउनेको कदर गर्न जरुरी रहेको बताए । पत्रकार सुदर्शनराज पाण्डेले स्व. बिन सबैको हित गर्ने र भोजपुरी भाषाको लागि मर्ने मान्छे भएको बताए ।
स्व. बिन्दु पाण्डे समृति प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा नेपाल भोजपुरी समाजका सचिव रितुराज पटेल, भोजपरी टाइम्स दैनिकका प्रकाशक अजय चौरसिया, स्व. बिनका छोरा विकास बिन, यज्ञ प्रकाश बिन, युवा नेता राकेश यादव, आपन वीरगंजका अशोक कुशवाहा, गायक अजमत अली लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । वीरगंज महानगरपालिकाको वडा नं. १६ निवासी स्व. बिन भोजपुरी टाइम्स दैनिक पत्रिकाका सलाहकार समेत थिए ।
स्व. विन्दु पाण्डे समृति प्रतिष्ठान, भोजपुरी टाईम्स दैनिक, नेपाल भोजपुरी समाज, सजक, कल्युग सन्देश दैनिकको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।