कार्यालय सहयोगीको लापरबाहीका कारण रौतहट कारागारबाट एक जना कैदी फरार

सत्येन्द्र प्रताप सिंह
रौतहट, २८ पुस ।
रौतहटको कारागारबाट कार्यालय सहयोगीको लापरबाहीका कारण अपहरण तथा शरीर बन्धक र संगठित अपराध मुद्दा खेपिरहेका कैदी फरार भएका छन् ।
रामपुकार राय यादवको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रौतहट जिल्लाको साविक गाविस समनपुर वडा नं ८ हाल गढीमाई नगरपालिका वडा नं १ का बिक्की राय यादव समेत भएको अपहरण तथा शरीर बन्धक र संगठित अपराध मुद्दामा ०७४/०४/२२ गतेको आदेशअनुसार निजी प्रतिवादी बिक्की राय यादव, अशोक राय यादव र मोहन साह कानू समेतलाई पुर्वपक्षको लागी थुनामा राख्नु भनि सम्मानित सर्लाही जिल्ला अदालतको आदेशअनुसार प्रतिवादीहरु जिल्ला कारागार रौतहटमा रहेकोमा ०७६/०९/२० गतेको सम्मानित जिल्ला अदालत सर्लाहीको फैसला अनुसार प्रतिवादी अशोक राय यादवलाई १५ बर्ष कैद सजाय तोकीएकोमा २७ गते आइतबार राति करिब ८ः३० बजेदेखि ९ः४५ बजेको समय भित्र कारागारको मुल ढोका देखि भित्रको ढोकाबाट थुनुवा कैदी गन्ती गर्नको लागि कारागारको कार्यालय सहयोगी एकरामुलहकले भित्रको ढोका खुलै छाडी कैदी गन्ती गर्न गएको मौकाछोपी सोही बेला बिजुली बिग्रेको तथा आन्तरिक बिजुली मर्मत गर्ने काम अशोक राय यादवले गर्ने गरेकोमा बत्ती बिग्रेको मौका छोपी कारागार भित्र रहेको मुढा तथा टुल समेतलाई एक माथि अर्को राखी पर्खाल माथि हामफाली फरार भएका छन् ।
बिगत सालमा पनि अपहरण तथा शरीर बन्धक मुद्दा खेपिरहेका नवीन यादवले गौरमा रहेका तैयब नर्सिङ होमबाट उपचारको बहनामा फरार भएका थिए । कार्यालय सहयोगी एकरामुल हकले बिगत ७ बर्ष देखि करारसेवामा कार्यालय सहयोगी पदमा कार्यरत रहेका छन् भने हाल कार्यालय सहयोगीलाई अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ ।