नापी कार्यालयले घरभाडा नै नतिरी अन्तै घरमा सरेको घरधनीको आरोप

संतोष रन्जितकार
वीरगन्ज, २८ पुस ।
नापी कार्यालय पर्साले घरभाडा नै नतिरी अन्तै घरमा सरेको घरधनीले आरोप लगाएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर–४ बिर्तामा रहेको सीमादेवी पटेलको दुई तले घर नापी कार्यालयका तत्कालीन प्रमुख दुर्गा दास महर्जनले पाँच बर्षको लागि २०७४ जेष्ठमा सम्झौता गरेर भाडामा लिई कार्यालय संचालन गरेका थिए ।
घरधनी पटेलका श्रीमानले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी ५ वर्षका लागि मासिक ४५ हजार रुपैयाँ भाडा दिने लिखित सहमति गरि नापी कार्यालय संचालनका लागि घर भाडामा दिइएको भएपनि कार्यालयका प्रमुखले ४ महिनाको घरभाडा, विद्युत र पानीको महशुल नै नतिरी अर्कै घरमा सरेको गुनासो गरेका छन् । उनले सम्झौता नियम विपरित गत मंसिर अन्तिम साता आफूलाई खबर नै नगरि घर खाली गरेर अर्कै घरमा कार्यालय सारिएको जानकारी दिए ।
पटेलले ४ महिनाको घरभाडा १ लाख ८० हजार, बत्तीको महशुल १५ हजार र खानेपानीको महशुल ३५ हजार गरि २ लाख ३० हजार रुपैया नापी कार्यालयले अहिलेसम्म नतिरेको बताएका थिए । घरबहाल दिने बेला गरिएको सहमति पत्रमा घर खाली गर्नु परेमा घरको रंगरोगन र मर्मत सम्भार गरेर मात्रै घरखाली गर्ने सम्झौतामा उल्लेख छ ।
यता, नापी कार्यालयका प्रमुख राम विनय सिंहले भने पहिले कार्यालय सञ्चालनमा रहेको घरधनी पटेलले नै बाँकी रहेको घरभाडाको रकम बुझ्न नमानेकाले चेक काटेर जिल्ला प्रशासन कार्यालयमा पठाएको जानकारी दिएका छन् । बिजुली र पानीको महशुल सबै तिरिसकेको र घरबहालका लागि गरिएको सहमति पत्रमा घरको रंगरोगन गर्ने उल्लेख नगरिएको समेत जानकारी दिए ।