नेकपाको सरकारले संसद र न्यायालयलाई अधिनमा राखी विभिन्न काण्डहरु गरिरहेको नेता रिजालको आरोप

0

संतोष रन्जितकार
वीरगंज, २ माघ ।
पर्साको जिराभवानी गाउँपालिका वडा नं. ५ शंकरसरैयामा निर्माण भएको बरात घरको बिहिबार एक समारोहका बिच नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले उदघाटन गर्नुभएको छ ।
गाउँपालिका र प्रदेशको बजेटले निर्माण भएको बरात घरको उदघाटन गर्दै केन्द्रिय सदस्य रिजालले नेकपाको सरकारले व्यवस्थापिका संसदलाई बन्धक बनाएको आरोप लगाए । पार्टीको आन्तरिक कलहका कारण नेकपाले एउटा सभामुखको टुंगो लगाउन नसकेर संसदलाई नै बन्धक बनाएको बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले दुई तिहाईको दम्भमा नेकपाको सरकारले संसद र न्यायालयलाई आफ्नो अधिनमा राखी विभिन्न काण्डहरु गरिरहेको र केही समय समाजवादीले दुई तिहाईको लागि नेकपालाई सहयोग गरेको र अब राजपाले सहयोग गर्न लागेको नेता रिजालको भनाई रहेको थियो ।
वडाध्यक्ष दारा सिंहको अध्यक्षतामा भएको उदघाटन समारोहमा प्रदेश सांसद शंकर चौधरी, नेपाली कांग्रेसका नेता वृहस्पति श्रेष्ठ, रमेश पाण्डे, श्रीकान्त यादव, प्रेम थापा लगायतको सहभागिता रहेको थियो ।
तिन कोठे निर्माण भएको बरात घरले गाउँमा हुने विवाहको लागि सहज हुने जनाइएको छ । बरात घर व्यवस्थापन समिति शंकरसरैयाको आयोजनामा कार्यक्रम भएको थियो ।