समुदाय र प्रहरीको सहकार्यले समाजमा अपराध न्यूनिकरण हुने ः आइजीपी खनाल

0

संतोष रन्जितकार
वीरगंज, २ माघ ।
नेपाल प्रहरीका प्रहरी महानिरिक्षक (आइजीपी) सर्वेन्द्र खनालले समुदाय र प्रहरीको सहकार्यले नै समाजमा अपराध न्यूनिकरण हुने बताउनु भएको छ । लागुऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि वीरगन्जमा स्थापना भएको कानूनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्रको उद्घाटन गर्दै आईजिपी खनालले यस्तो बताउनु भएको हो ।

वीरगन्ज महानगरपाकिाको वडा नम्बर ६ को वडा कार्यालयको दुईवटा कोठालाई तत्काल केन्द्रको संज्ञा दिइएको छ । यसको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले रिवन काटेर औपचारिकता प्रदान गर्नु भएको थियो ।

आईजिपी खनालले समाज भित्र हुने अपराध न्यूनिकरणका लागि सुधार्नु र सुघ्रिनुको विकल्प नभएको दावी गर्नु भयो । कार्यक्रममा आइजीपी खनालले ॅदण्डात्मक अवस्थाले मात्र बढ्दो लागु औषध प्रयोगकर्तालाई न्यूनिकरण गर्न नसकिने हुँदा परामर्शको खाँचो रहेको बताउनु भयो । साथै उनले यसमा सबैको समन्वय र सहयोग आवश्यक पर्ने बताउनु भयो ।
उनले लागु औषध सेवन कर्ताका अवस्था विकराल रहेको चिन्ता व्यक्त गर्दै अहिले यो सामाजिक समस्या बन्दै गएकोले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान शुरु गरेको बताउनु भयो । प्रहरी महानिरिक्षक खनालले विद्यालयका शिक्षक र अभिभावक लागु औषध विरुद्ध खुलेर परामर्शकेन्द्र आउनु पर्नेमा कुरामा जोड दिनु भएको थियो ।

लागु औषधको ट्रान्जिट बिन्दुका रुपमा रहेको वीरगन्जमा प्रयोगकर्ता र कारोबारीलाई निशुल्क मनोसामाजिक परामर्श दिई समाजमा लागु औषधको प्रयोग, रोकथाम र नियन्त्रण गर्न प्रहरीसँगको सहकार्य उक्तम हुने ठानी संयुत्त प्रयास थालनी गरिएको नगरप्रमुख सरावगीले बताउनु भयो ।

नेपाल प्रहरी र वीरगन्ज महानगरपालिकाको संयुक्त सहकार्य पत्रमा सहभागी सामु महानगरको तर्फबाट नगरप्रमुख सरावगी र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत र नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले हस्ताक्षर गरी साटासाटा गरेका थिए ।
त्यसैगरी प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले शंकराचार्य गेट नजिक रहेको इनर्वा नाकाको प्रहरी चौकीको निरिक्षण गर्नुको साथै स्थिती बुझेका थिए ।
सोही क्रममा महानिरिक्षक खनालले वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधी र उद्योग व्यवसायीहरुसंग भेटघाट तथा छलफल गरेका थिए । संघकै पहलमा वीरगंज आदर्शनगरमा रहेको प्रहरी चौकीलाई महानिरिक्षक खनालले प्रहरी प्रधान कार्यालयबाट आएको १ थान प्रहरी भ्यान आदर्शनगर प्रहरी चौकीका प्रहरी नायब निरिक्षक सुर्यनारायण चौधरीलाई हस्तान्तरण गर्नु भएको थियो ।

परामर्श केन्द्रको उद्घाटन, पछि वीरगन्ज उद्योग बाणिज्य संघमा उद्योगी व्यापारीहरुसँग र जिल्ला प्रहरी कार्यालयमा समेत संगठनका प्रहरी अधिकृत तथा कर्मचारीसँग गरी उहाँ तीनवटा कार्यक्रममा सहभागी हुनु भएको थियो । महानिरक्षक खनालको वीरगन्ज आगमनलाई स्थानीय बुद्धिजिबीले भने अवकासको एक महिना पनि बाँकी नहुँदा आर्थिक नगरीमा उहाँको एकै दिन तीन कार्यक्रममा व्यस्तता हुनुलाई अर्थपूर्ण रुपमा हेरेका थिए ।
कार्यक्रममा प्रदेश नम्बर २का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक प्रद्युमन कुमार कार्कि, लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बसन्त कुमार, वीरगन्ज उधोग वाणिज्य सघंका अध्यक्ष गोपाल केडिया, पत्रकार महासंघका पर्सा अध्यक्ष श्याम बन्जारा लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।