सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामानहरु बरामद

संतोष रन्जितकार
बीरगंज, २ माघ ।
बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाईपास ईलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलीका विभिन्न समानहरू बरामद गरेको छ । राजश्व तथा भन्सार सुरक्षा गस्तीको गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीको कमाण्डमा खटिएको मोबाइल टोलीले अवैध रूपमा भन्सार छली भित्र्याईएको करिब दुई लाख मुल्यका विभिन्न सामानहरू नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी नायब उपरीक्षक खत्रीले बताउनु भयो ।
बरामद समानहरूमा लत्ता कपडा, जुत्ता, चप्पल, ईलेक्ट्रिक सामान, भाडावर्तन लगायत रहेका छन । बरामद गरिएका समानहरूलाई थप आवश्यक कार्यवाहीका लागी बीरगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसैगरी अवैध भारतीय रुपैयाँसहित वीरगञ्जबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको पूर्वी चम्पारण थाना कोटवा ६ बस्ने २९ वर्षीय सचिन भाष्कर पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले भाष्करलाई ५ लाख १७ हजार ४ सय भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । झोलाभित्र भारतीय रुपैयाँ लुकाएर ल्याउँदै गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट भाष्करलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उनको साथबाट भारतीय रुपैयाँ ५ सय दरका १ हजार ४ थान, २ सय दरका ५३ र १ सय दरका ४८ थान फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now.