नयाँ सदस्यताको सिफारिस नगरेको कारण पर्साका विभिन्न पत्रकार संगठनहरु आन्दोलित

विधिविधानले भ्याएसम्म पत्रकार संगठनहरुको मागलाई सम्बोधन गर्ने ः अध्यक्ष चौहान

19

संतोष रन्जितकार
वीरगन्ज, ५ माघ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले केन्द्रीय निर्णय अनुसार पुस मसान्तभित्र गर्नु पर्ने नयाँ सदस्यताको सिफारिस नगरेको भन्दै जिल्लाका विभिन्न पत्रकार संगठन तथा पत्रकारहरु आन्दोलित भएका छन । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जाराले पुस मसान्तभित्र सदस्यता वितरणको प्रक्रिया अगाडी बढाउँनु पर्नेमा नबढाएको भन्दै महासंघ पर्साका पूर्व अध्यक्ष अशोक तिवारीको अगुवाईमा रहेका विभिन्न संगठनका पत्रकारहरुले प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानलाई उजुरी बुझाउँदै जिल्लाका नेतृत्वले बदनियतपूर्ण तरिकाले, योग्यता पुगेका क्रियाशील पत्रकारलाई नयाँ सदस्यबाट बञ्चित गर्न खोजेको आरोप लगाएका थिए । जिल्लामा बिभिन्न संचारमाध्यमा क्रियाशील पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सदस्यता दिनबाट जिल्ला शाखाको नेतृत्वले बञ्चित गर्न खोजेकोले यथाशिघ्र विद्यमान निर्देशिका र बिधान अनुसार नयाँ सदस्य उपलब्ध गराउँनु पर्ने, पत्रकारिता पेशा तथा यस स्थानबाट पलायन भइसेकाकाहरुको सदस्यता खारेजी र ठाउँसारी गर्ने माँग गरिएको छ ।
त्यसैगरी महासंघ पर्साको २०७५ पुस २९ मा सम्पन्न सधारणसभामा जिल्ला अध्यक्ष श्याम बञ्जारा माथि अनियमितता तथा पदको दुरुपयोगको आरोप लागेपछि त्यसलाई छानबिन गर्न गठित समितिले अनियमितता भएको ठहर गर्दै सुझाव र सिफारिस सहितको प्रतिवेदन बुझाएको ९ महिना बित्दा पनि कारवाही नभएको तथा त्यसमा कारवाही गर्नुपर्नेर् उजुरीमा उल्लेख गरिएको छ । छानबिन समितिले बुझाएको प्रतिवेदनउपर कारवाही गर्नुपर्ने देखिएकोले त्यसलाई रोक्न महासंघका अध्यक्ष बन्जाराले साधारणसभा बितेको नौ महिनाभन्दा बढी समय भएपनि हालसम्म कुनैपनि बैठक नगरेको महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष तिवारीले प्रदेश नेतृत्वलाई ध्यानाकर्षण गराएका थिए । पूर्व अध्यक्ष तिवारीले तोकिएको समयमा नयाँ सदस्यताको आवेदन दिँदा पनि आवेदन नलिएको, योग्यता पुगेर पनि सदस्यता नदिइएको वा नवीकरण नगरिएको तथा मापदण्ड नपुग्नेलाई सदस्यता सिफारिस गरिएको वा नवीकरण गरिएको तथा अध्यक्ष बन्जाराले आफ्नो अनियमितता ढाकछोप गर्न महासंघको बैठक नगराएको आरोप समेत लगाएका थिए । यसले गर्दा नयाँ सदस्यताको बिषयमा संस्थाभित्र छलफल समेत हुन नपाई क्रियाशिल पत्रकारहरु नयाँ सदस्यता लिनबाट अहिले बञ्चित भएको उजुरीमा भनिएको छ ।
सोही क्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानले कुनै पनि पत्रकारहरुमाथि अन्याय हुन नदिने बताउनु भयो । उहाँले पर्सा जिल्लामा मात्र नभई आठै जिल्लामा पत्रकारहरुको सदस्यता शुद्धिकरण, नवीकरण र नयाँ क्रियाशिल पत्रकारहरुलाई सदस्यता दिइने प्रतिवद्धता जाहेर गर्नुभयो । अध्यक्ष चौहानले आगामी प्रदेश समितिको बैठक बसी विधि विधानले भ्याएसम्म पर्साका पत्रकारहरुको मागलाई सम्बोधन गर्ने जनाउनु भएको थियो ।
उजुरी बुझाउनेमा नेपाल प्रेस युनियन पर्सा शाखाका अध्यक्ष रामनारायण कुर्मी, संघीय प्रेस फोरम पर्साका अध्यक्ष राजाकुमार पटेल (आर के पटेल), ब्रोडकास्टि· एसोसिएसन (बान) का प्रदेश नं. २ का अध्यक्ष आरसी यादव, फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहान, साप्ताहिक पाक्षिक पत्रिकाका संजालका रामराजय यादव, इकोनोमिक रिपोटर्स एसोसिएसन नेपालका संयोजक रितेश त्रिपाठी लगायतको सहभागिता रहेको थियो ।