बलिदानी दिवसको अवसरमा प्रदेश सरकारद्वारा शहिद परिवारलाई सम्मान तथा रकम वितरण

सहिदका परिवारलाई ५० लाखको घोषणा गरेर २५ हजार मात्रै दिएर टारिएको छ ः सांसद यादव

37

संतोष रन्जितकार
वीरगन्ज, ५ माघ ।
प्रदेश नं. २ को सरकारले बलिदानी दिवसको असवरमा मधेश आन्दोलनमा सहिद भएका परिवारहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ । बीरगंजको नगरसभा गृह (टाउनहल) मा आइतबार आयोजित मधेश आन्दोलनका क्रममा सहिद भएका घरपरिवारहरुलाई प्रदेश सरकारले सम्मान गरेको हो ।

मधेस आन्दोलनका क्रममा मधेसी दलका नेताहरुले मधेसमा हाम्रो सरकार बनेपछि सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपुर्ति दिने घोषणा गरेका थिए । प्रदेश २ मा मधेसी दलको सरकार बनेको पनि दुई वर्ष पूरा हुँदैछ । तर आन्दोलनका बेला मधेसी दलका शीर्ष नेताहरुले घोषणा गरेको ५० लाख रुपैयाँ सहिदका परिवारले पाउन सकेका छैनन् । सहिद सम्मान कार्यक्रममा प्रदेश सरकारले मधेसी सहिदहरुका परिवारलाई २५ हजार रुपैयाँ दिएको थियो । मधेस आन्दोलनका पहिलो सहिद भनी चिनिएका रमेश महतोका दाजु बालकृष्ण सिंहले आन्दोलनका बेला नेताले मधेसमा मधेसी दलको सरकार बने सहिदका परिवारलाई ५० लाख दिन्छौँ भनेर उक्साएका थिए, तर अहिले प्रदेश सरकारले ५० लाखको ठाँउमा २५ हजार मात्रै दिएर टारेको छ ।
प्रदेश सरकारले सहिदका परिवारका एक जनालाई रोजगारी दिने घोषणा पनि गरेका थिए । तर यस्तो सुविधा पनि सरकारबाट नपाएको सहिद परिवारले गुनासो गरेका छन् ।
सो कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पनि सहिदका परिवारलाई ५० लाखको घोषणा गरेर २५ हजार रुपैयाँ मात्रै दिएर टारिएको भन्दै प्रदेश सरकारको आलोचना गरेका थिए । समाजवादी पार्टी पर्साका नेता समेत रहेका यादवले ॅ५० लाख दिन्छौँ भनेर घोषणा गरियो, तर अहिले त २५ लाख रुपैयाँ दिएर टारिएको छ ।’ कार्यक्रममा उपस्थित मुख्यमन्त्री, मन्त्रीहरुलाई लक्षित गर्दै उनले भने, ॅमधेसमा मधेसी दलकै सरकार छ, अहिले सत्तामा हुँदाका बेला नदिए कहिले दिने हो ? प्रदेश सरकारले सहिदका परिवारलाई ५० लाख तुरुन्त दिनुहोस् भन्दै जोडदार माग समेत गरेका थिए ।’ यादवले प्रदेश सरकारले मधेश आन्दोलनका बखत शहिद भएका व्यक्तिहरुको एक ठाँउमा पनि शालीक बनाउन नसकेको भन्दै टिप्पणी गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सहिदको बलिदानीको मुल्यांकन पैसा दिएर वा शालीक बनाएर नहुने तर्क गरे । ॅसहिदकै बलिदानीका कारण हामीले प्रदेश सरकार बनाएका हौँ, त्यसैले प्रदेश सरकारले सहिदको योगदानलाई कहिल्यै पनि नबिर्सिने मुख्यमन्त्री राउतले बताए । प्रदेश सरकारले सरकारी निर्णय गरेर माघ ५ लाई बलिदानी दिवस मनाइरहेकाले यो आफैमा ठूलो उपलब्धि भएको जिकिर गरे ।
ऊक्त कार्यत्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले भने सहिदका परिवारलाई ५० लाख दिन प्रदेश सरकार आर्थिक रुपमा सक्षम नभएको बताए ।
सोही क्रममा पहिलो, दोश्रो र तेश्रो गरी तीन पटकको मधेस आन्दोलनमा मारिएका ११७ जनालाई सहिद घोषणा गरिए पनि प्रदेश सरकारले आयोजना गरेको बलिदानी दिवसमा ५२ सहिदका परिवारलाई मात्र प्रदेश सरकारले जनही २५ हजार रुपैयाँ प्रदान गरेको थियो ।

मुख्यमन्त्री कार्यालयका अधिकृत सुरेन्द्र कर्णले भने, ॅमन्त्रिपरिषदबाट ५२ जना सहिद परिवारको माक्रै सूची हामीलाई आएको हो, त्यसमध्ये आजको कार्यत्रममा ४२ जनाले मात्र नगद रकम बुझेका छन्, बाँकी १० जनालाई मुख्यमन्त्री कार्यालयबाटै रकम उपलब्ध गराइने छ ।’ मन्त्री सोनलले भने ५२ बाहेक अन्य अरु नै प्रदेशको भएकाले प्रदेश २ का मात्रै सहिद परिवारलाई सम्मान र रकम वितरण गरेको बताए ।