डाक्टरको लापरवाहीको कारण साहको मृत्यु भएको आफन्तजनको आरोप

12

सत्येन्द्र प्रताप सिंह
रौतहट, १७ माघ ।
रौतहट जिल्लाको गौरमा रहेका जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार गराउन गएका एकजना पुरुषको शुक्रवार मृत्यु भएको छ । छाती र पाखुरा पछाडि दुखीरहेको भन्दै अस्पताल पुगेका बृन्दाबन नगरपालिका वडा नम्बर ५ नरकटिया भवानीपुरका ५० वर्षीय दीपलाल साह कानूको मृत्यु भएको हो ।
आकस्मिक कक्षमा प्राथमिक उपचारका लागि दिउँसो करिब २ः३० बजेको समयमा सामान्य अवस्थामा ईसीजी गराउनको लागि गएका साहको ईसीजी कक्ष मै मृत्यु भएको थियो । ईसीजी कक्षमा गएका साह अचानक अचेत भएर भुईँमा लडका थिए । मेशिनमा राख्नु भन्दा पहिला नै ढलेका साहको डाक्टर समयमा नआएका कारण मृत्यु भएको आफन्तजनको आरोप रहेको छ ।
टेलीफोन मार्फत कुरा गर्दै एक्सरे रूममा पुगेका साहको अचानक मृत्यु भएको चिकित्सकहरुले बताएका छन । साह सँगै रहेका बाराको लक्ष्मण लाल महतोले समयमा डाक्टर आउन नसकेको कारण ज्यान गएको आरोप लगाएका छन । सँगै अस्पतालमा आउदा इमरजेन्सीमा रहेका स्वास्थ्यकर्मी राजेश कुमार सिंहले गलत औषधि दिएको कारण मृत्यु भएको पीडितहरुको आरोप रहेको छ ।
मृतकका छोरा अरविन्द प्रसाद साहले डाक्टरको लापरवाहीको कारण बुवाको मृत्यु भएकोले कार्यरत डाक्टर माथि कानुनी कार्यवाही हुनु पर्ने मांग गरेका छन । मृत्यु पछि ईसीजी कक्षमा औषधिहरु हालेको दाबी गरे । अस्पताल जस्तो संवेदनशील ठाउमा चिकित्सक गैर जिम्मेवारी भूमिका निर्वाह गरेकोले कार्यवाही नगरेसम्म शव जिम्मा नलिने आफन्तहरुले उद्घोष गरेका छन ।
इमरजेंसीमा रहेका अहेव राजेश सिंहले उपचार गराउन आएका साह सामान्य अवस्थामा रहेको बताएका छन । छाती, पेट तथा पिठ्युं पछाडीको भागमा दर्द हुनुको साथै ग्यासको समस्या रहेको बताएकोमा त्यसैको औषधि दिइएको सिंहले बताए । मधुमेह र हृदयाघातको बिरामी रहेका साहको चीनीको मात्रा बढी पाइएपछि थप परिक्षणको लागि एक्सरे कक्षमा पठाएको बताए ।
एक्सरे नहुँदै साहको मृत्यु भएकोले के कुन कारण मृत्यु भएको यकीन भन्न नसकिने अस्पतालका मेडिकल सुपरिटेंडेंट डाक्टर कृष्णा साहले बताए । सामान्य अवस्थामा रहेको साहको मृत्युले आश्चर्यमा पारेको बताउँदै दुखित समेत भएको जनाए । माथिल्लो तल्लामा शल्यक्रिया गर्ने तयारीमा रहेको बेला खबर आउनासाथ जादा खेरी बिरामीको मृत्यु भइसकेको थियो उनले भने अचेत अवस्थामा गर्नु पर्ने क्रियाकलाप गर्दा पनि चेतना आउन नसक्दा मृत्यु भइसकेको आफन्तहरुलाई जानकारी गराएको बताए । प्रारम्भिक लक्षण अनुसार मृत्यु हृदयाघातको कारण नै भएको अनुमान गर्न सकिने अवस्था रहेपनि स्वाथ्य परिक्षण नै हुन नसकेकोले ठोस रुपमा भन्न नसकिने उनको भनाई रहेको थियो ।