स्कर्पियो अनियन्त्रित भई डिभाईडरमा ठोक्किदा एकको मृत्यु ७ घाइते

34

संतोष रन्जितकार
वीरगंज, १७ माघ ।
तीव्र गतिका कारण मध्य रातमा भएको स्कर्पियो दुर्घटनामा परी बाराका एक युवकको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते युवकको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
वीरगन्जको घण्टाघरबाट उत्तरतर्फ जाँदै गरेको बा १५ च ७७७१ नम्बरको स्कार्पियो राति १२ बजेको समयमा अनियन्त्रित भई वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली चोकस्थित डिभाइडरमा ठोक्किँदा सवार आठ जना घाइते भएका पर्सा प्रहरीले जनाएको छ ।
उनीहरु मध्ये गम्भिर घाइते हुनेमा बाराको परवानीपुर गाउँपालिका ५ का अन्दाजी १८ वर्षीय युवक आकाश पटेलको उपचारको क्रममा बिहान १२ः४० मा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए ।
घटनाभए लगत्तै घटनास्थलमा पुगेको प्रहरीले सो स्कर्पियोमा सवार व्यक्तिहरुको उद्दार गरी गम्भिर घाइते पटेललाई वीरगन्जको नारायणी अस्पतालमा लगि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको थियो ।
दुर्घटनामा परी बाराको फेटा गाउँपालिका वडा नम्बर १ भलुहीका १७ वर्षीय धिरेन्द्र दास, वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरका १८ वर्षीय ओम पुरी र वर्ष १६ का अमित साह घाइते छन् । उनीहरुको पनि वीरगन्ज न्यूरो अस्पताल र अर्थो अस्पतलामा उपचार भइरहेको छ ।
स्कार्पियोमा रहेका आठ जना मध्ये बाँकी चारजना भने सामान्य उपचार पछि आ–आफ्नो घर फर्किसकेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।