प्रदेश स्तरीय गिरिजा प्रसाद कोइराला फुटबल प्रतियोगिता शुरु

वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ः नेता रिजाल

54

संतोष रन्जितकार
वीरगन्ज, १९ माघ ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साद्वारा आयोजित प्रदेश स्तरीय फूटबल प्रतियोगिताको उद्घाटन भएको छ । जीपी फाउण्डशेन पर्साद्वारा आयोजित प्रथम गिरिजा प्रसाद कोइराला प्रदेश नं. २ फुटबल प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले आदर्शनगर रंगशालामा एक भव्य कार्यक्रमको बीच गर्नु भएको हो ।

सो उद्घाटन समारोहमा बोल्दै नेता रिजालले खेलकुदले मानव जिवनमा अनुशासन सिकाउने भन्दै वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउनु भयो । जीपी फाउण्डशेनले समाजिक क्षेत्रमा सराहनीय कार्य गर्दै आएको भएतापनि वर्तमान सरकारको नकारात्मक क्रियाकलापलाई पनि सशक्त प्रतिकार गर्नुपर्ने आवश्यकता रहेको चर्चा गर्नु भयो ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दीनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, जीपी फाउण्डेशनका केन्द्रिय सदस्य अजय राई, राजपाका सह–महासचिव नेजामुदिन समानी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

आज भएको फुटबल प्रतियोगितामा पर्सालाई पराजित गर्दै धनुषा जिल्लाको टिमले बिजयी शुरुवात गरेको छ ।
धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम निरीह बन्यो । खेलको सुरुवातमा धनुषाका खेलाडीलाई निकै दबावमा राखेपनि गोल भने रोक्न सकेन । दोश्रो हाफको चार मिनेटमा पर्साका जर्सी नम्बर ३ का सुदीश श्रेष्ठले गोल गरेपछि खेल बराबरी भएको थियो ।

निर्ध्राित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो । पेनाल्टी सुटआउटमा धनुषा ४–२ ले विजयी भएको हो । पर्साका खेलाडीले पाएको पहिलो पेनाल्टीमा जर्सी नम्बर ४ का आशिष ताम्राकार र जर्सी नम्बर १० का सुनिल गुरुङले गोल गर्न चुकेपछि खेलको नतिजा धनुषाको पक्षमा गएको हो ।
सो कार्यक्रममा मनोकामना सेकेन्ड्री बोर्डि· स्कुल, गौतम स्कुल, जिएचपी स्कुल, मास्कोट स्कुल, श्री नृसिंह स्कुल, कन्चनजंगा स्कुलका विद्यार्थीहरुले मार्चपास तथा नृत्यहरुको समेत प्रस्तुती गरेका थिए ।
त्यसैगरी आईतबार महोत्तरी फुटबल संघ र रौतहट फूटबल संघबीच खेल हुनेछ ।