सिंह ११ लायन्सलाई पराजित गर्दै वीरगंज स्टार्स बिजयी

12

वीरगन्ज, २० माघ ।
प्रदेश २ मा पहिलो पटक आयोजित वीरगन्ज प्रिमियर लिग (बिपिएल) टि–ट्वान्टी क्रिकेटको उपाधी वीरगन्ज स्टार्सले जितेको छ । नेपाली राष्ट्रिय टोलीका किर्तिमानी खेलाडी महबुब आलमको कप्तानीमा रहेको सिंह ११ लायन्सलाई ४ विकेटले हराउँदै वीरगन्ज स्टार्सले उपाधी उचालेको हो ।
नारायणी रंगशालाको क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा १ सय ४१ रनको लक्ष्य वीरगन्ज स्टार्सले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो । सिंह ११ ले दिएको १ सय ४१ रनको लक्ष्य वीरगन्ज स्टार्सले ७ बल बाँकी छँदै पुरा गरेर लिगको उपाधी जितेको हो ।
वीरगन्ज स्टार्सका लागि विस्फोटक ब्याटिङ गरेका विवेक यादवले केवल ३४ बलमा अविजित ७१ रन बनाएका थिए । सुरुवाती ६ व्याट्स म्यानहरु ६८ रनमै आउट भएपछि क्रिजमा उत्रिएका यादवले ६ छक्का र ५ चौका प्रहार गरेका थिए । यादवलाई क्रिजमा खेलको अन्तिम क्षणसम्म साथ दिएका अलियास मन्सुरी पनि १५ रनमा अविजित रहे । राष्ट्रिय टोलीका सदस्यसमेत रहेका कप्तान हासीम अन्सारीले भने २० रनको योगदान दिए । बलिङतर्फ सिंह ११ का राहुल प्रताप सिंहले सर्वाधिक ३ विकेट लिए भने कप्तान महबुब आलम, रोविनकुमार सिंह र रोहितकुमार सिंहले समान १(१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंह ११ ले पुरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो, जसमा हिमांशु दत्तले सर्वाधिक ५४ र अविनाश अधिकारीले ४५ रन जोडेका थिए । कप्तान महबुब आलम भने ६ रनमात्र जोड्न सफल भएका थिए । बलिङतर्फ वीरगन्ज स्टार्सका विवेक यादव, भुलावन सहनी, हरिशंकर साह र सैदुल्लाह अन्सारीले समान १–१ विकेट लिएका थिए ।
उपाधीसँगै वीरगन्ज स्टार्सले नगद २ लाख ५० हजार रुपैयाँ हात पारेको छ भने उपविजेता सिंह ११ ले १ लाख ८० हजार प्राप्त गरेको थियो ।
प्रतियोगितको म्यान दि सिरिज घोषित वीरगन्ज स्टार्सका विवेक यादवले नगद २० हजार रुपैयाँ हात पारे । प्रतियोगिताको समापन समारोहमा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले उपाधी विजेता र उपविजेता टिमलाई शिल्ड र मेडल समेत प्रदान गरेका थिए ।
युनाइटेड क्रिकेट क्लबले आयोजना गरेको बिपिएल टि–ट्वान्टी क्रिकेटमा राष्ट्रिय र प्रदेश स्तरीय खेलाडीहरु सम्मिलित ६ वटा टिमले भाग लिएका थिए ।