इन्टरनेटका तारहरु अव्यवस्थित हुंदा वीरगंज कुरुप बन्दै

वर्ल्ड लिंकले प्राधिकरणको लाखौं रकम नबुझाएको प्राधिकरणका इन्जिनीयर दासको आरोप

19

संतोष रन्जितकार
वीरगंज, २७ माघ ।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगरले वीरगंज महानगरपालिका वडा नं. १० मा रहेका टेलिकम तथा विद्युतको पोलहरुमा जडान गरिएका इन्टरनेट तथा डिसका तारहरु अव्यवस्थित रहेकोले सोलाई व्यवस्थित गर्न छलफल गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर लगायत विभिन्न स्थानको एरियामा रहेका पोलहरुमा जडान गरिएको तारहरुलाई व्यवस्थित गर्नको लागि ग्रीन सिटी सामुदायिकले इन्टरनेट कम्फनीका व्यक्ति, टेलिकम, विद्युत तथा डिस केबलका व्यत्तिहरुसंग छलफल गरेको हो ।

छलफलका क्रममा ग्रीन सिटीले सो तारहरुले गर्दा विभिन्न किसिमको समस्याहरु सुरक्षालाई ध्यानमा राखी जडान गरिएको सिसिटिभी क्यामरा छोपिएको, गर्मीको समयमा सर्टसर्किट भएर आगलागी हुने लगायतको समस्याहरु आउने गरेको हुंदा सो तारहरुलाई व्यवस्थित गर्न ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानले जोड दिनुभएको थियो ।
विद्युत प्राधिकरणको सम्झौता अनुसारको वर्ल्ड लिंक लगायतका इन्टरनेट कम्पनीहरुले प्राधिकरणलाई दिनुपर्ने लाखौं रकम नबुझाएको र प्राधिकरणले यही भदौ महिनामा पत्रचार गर्दा पनि अटेर गरी उपस्थित समेत नभएको प्राधिकरणका इन्जिनीयर उमेश दासले जानकारी दिएका थिए ।
सोही क्रममा उपस्थित भएका सरोकारवाला, इन्टरनेट कम्पनी र विद्युत, टेलिकम लगायत वीरगंज महानगरपालिले यही माघ २९ गते अर्को बैठक बसी सो तारहरुलाई व्यवस्थित गर्ने निर्णय गरिएको थियो ।
ग्रीन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा बसेको बैठकमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु, ट्राफिक कार्यालय पर्साका प्रहरी निरिक्षक कमलराज पंडित, वीरगंज महानगरपालिकाका सुरेन्द्र प्रसाद साह, टेलिकमका नागेश्वर प्रसाद गुप्ता, वर्ल्डलिंकका प्रबन्धक सन्जु अहृमद, भाइनेटको अहृमद कलाम आजाद, सुबिसु प्रविण प्रधान, क्लासिक टेकका कृष्ण सिंह, वाईफाई टेक जिवन प्रसाद गुप्ता लगायतका इन्टरनेट कम्पनीहरु, ग्रीन सिटीका पदाधिकारीहरु र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।