नेविसंघद्वारा अख्तियार विरुद्ध मसाल जुलुस प्रदर्शन

प्रहरीले जुलुस नियन्त्रणमा लिन खोज्दा नेविसंघका केन्द्रिय सदस्य पटेल घाइते

36

संतोष रन्जितकार
वीरगन्ज, २७ माघ ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले सोमबार वीरगंजमा अख्तियार विरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले वीरगन्जमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
अख्यितारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसददेखि सडकसम्म बिरोध प्रदर्शन गरिएको छ ।
सो मसाल जुलुस नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेलको नेतृत्वमा वीरगंजको पानमंडी, माईस्थान, महाविर स्थान, गोश्वारा रोड लगायतको विभिन्न स्थानबाट एकै साथ मसाल जुलुस निकालिएको थियो ।
जुलुस नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब ६०–७० जना प्रहरीहरु परिचालन गरिएको थियो । जुलुसमा सहभागि विद्यार्थी नेताहरुले ओली सरकार र अख्तियार विरुद्ध चर्को नाराबाजी गर्दै नगरको फरिक्रमा गरेका थिए ।
जुलुसलाई नियन्त्रणमा लिने त्रममा प्रहरीले संघका केन्द्रिय सदस्य सुधिर पटेलसंग मसाल नियन्त्रणमा लिन खोज्दा नदिएपछि लाठी प्रहार गर्दा उनी लगायत ठाराब विद्यार्थी नेता मुन्ना तिवारी घाइते भएका थिए । प्रहरीले केही विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिएपनि जुलुस कार्यक्रम सकिएपछि छोडेको थियो ।
विरोधको क्रममा नेविसंघका केन्द्रिय सदस्य ब्रदी नारायण तिवारी, नेवि संघ जिल्ला उपाध्यक्ष विकेश पटेल, नेवि संघ महानगरपालिका अध्यक्ष विवेक कलवार, ठाराब नेता अब्दुल कयुम, नेपाली काँग्रेसका प्रवेश सर्राफ, समिर अंसारी लगायतको सहभागिता रहेको थियो ।