भिजन मिडिया र एजुकेसन डटकमद्वारा आयोजित २ दिने शैक्षिक मेला शुरु

9

संतोष रन्जितकार
वीरगञ्ज, २७ माघ ।
नेपालमै उच्च शिक्षा प्रदान गर्ने अभिप्रायले भिजन मिडिया ईनकर्पोरेशन र एजुकेसन डटकमको संयुक्त आयोजनामा २ दिने शैक्षिक मेला सोमबारदेखी शुरु भएको छ । एजुकेशन डटकमका प्रमुख कार्यकारी अधिकृत जिवन लामा गोलेले वीरगन्जको नगरसभा गृहमा शुरु भएको स्टडी ईन नेपाल एजेुकेशन फेयरको उद्घाटन गर्नुभएको थियो ।

सो शैक्षिक मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, वीरगन्ज पब्लिक कलेज, ठाकुराम बहुमुखी क्याम्पस लगायतका २७ भन्दा बढी कलेजको स्टल राखिएको छ । उच्च शिक्षाका लागि बिदेशमा जानेहरुको संख्या बढीरहेको बेलामा यस शैक्षिक मेलाले सो संख्यालाई कम गर्ने बिश्वास आयोजकले लिएको छ । २ दिने मेलाको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत गोलेले वीरगञ्ज र यस आसपासका विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षा प्रदान गर्न सघाउ पुगोस भन्ने सोचका साथ वीरगञ्जमा पनि शैक्षिक मेलाको आयोजना गरिएको बताउनुभयो ।
नेपालमा पनि सस्तो र सर्वसुलभ मुल्यमा गुणस्तरी उच्च शिक्षा प्रदान गर्ने विभिन्न शैक्षिक संस्थाहरु रहेको हुनाले अब शिक्षाको लागि विदेशिनु नपर्ने उहाँले बताउनु भएको थियो । स्वदेशमै शिक्षा, सबैको ईच्छा भन्ने नाराका साथ आयोजित शैक्षिक मेलाको आज पहिलो दिनमा १५ सय भन्दा बढी विद्यार्थीहरुले निःशुल्क परामर्श दिइएको मेलाका व्यवस्थापक नविन कार्कीले बताउनुभयो ।