कोरोना भाइरसबारे वीरगंजमा जनचेतनामूलक र्‍याली सम्पन्न

38

संतोष रन्जितकार
वीरगंज, २८ माघ ।
नोबेल कोरोना भाईरस बिरुद्ध मंगलबार वीरगंजमा जनचेतना फैलाउने र्‍याली निकालिएको छ । चीनमा देखा परेको कोरोना भाईरस नेपालमा पनि प्रवेश गरिसकेकोले त्यसबाट सर्बसाधारणलाई बचाउने गरी एक कार्यक्रम मार्फत वीरगंजमा जनचेतना मुलक र्‍याली निकालिएको हो ।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको आयोजनामा निकालिएको र्‍यालीको प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की रहनु भएको थियो भने र्‍यालीमा वीरगंजका विभिन्न विद्यालयका बिधार्थीहरु, समाजसेवी, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहभागीतामा वीरगंजको आदर्शनगरबाट निस्केको र्‍याली रेशमकोठी, बिर्ता, भगवतीटोल हुंदै पुनः आदर्शनगरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपनिरिक्षक गंगा पन्त, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, जिल्ला ट्राफिकका प्रहरी निरिक्षक कमलराज पण्डित, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु, वीरगंज महानगर स्वास्थ्य शाखाका हाजिर आलम, ईन्दिरा लोहनी लगायत विधार्थीहरु, स्थानीय प्रहरी प्रशासन तथा समाजसेवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
विभिन्न संघ संस्थाले पर्सामा कोरोना भाईरस फैलिन नदिन र यसबाट मानिसलाई बचाउँन विभिन्न जनचेतना फैलाउँदै सतर्कता अपनाउन बारे जानकारी दिईदै आईरहेका छन् । विश्वमै यो रोगको संक्रमण फैलिरहेको बेला विश्व स्वास्थ्य संगठनले नेपालमा पनि धेरै मानिसको आवत–जावत हुने भएकोले यसबाट सतर्कता अपनाउन जरुरी रहेको बताएको थियो ।
कोरोना भाईरसको संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वास प्रश्वासमा समस्या हुने जस्ता लक्ष्ण देखा पर्ने भएकोले यस्तो लक्षण फ्लुसंग मिल्दो जुल्दो हुने भएकोले रुघा खोकी लागेका व्यक्तिबाट सतर्क रहन जरुरी रहेको पनि बताईएको थियो । यस्ता लक्षण देखा परे नजिकको स्वस्थ्य संस्थामा गई चेँकजाँच गराउन समेत कार्यक्रम मार्फत अपिल गरिएको थियो ।

त्यसैगरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोलले पनि कोरोना भाइरस सम्बन्धी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम सामुदायिक सेवा केन्द्र कुम्हालटोलको उपाध्यक्ष संजु दाहालको सभपतित्वमा सम्पन्न कार्यक्रममा सामुदायिकका प्रतिनिधीहरु श्रवण रायमाझी, भवानी पौडेल, ज्ञानमाया रायमाझी, रामलक्ष्मण रौनियार, भवानी घिमिरे, सम्झना मल्ल प्रहरी जवान कुमार विक लगायतको उपस्थिती रहेको थियो । भने सो कार्यक्रम वीरगंज महानगरपालिकाको वडा नं. ५, ७, १६ मा संचालन गरिएको थियो ।